पहिचानको संरक्षणका लागि समर्पित रह्यो यो वर्षको ल्होछार पर्व(फोटो फिचर सहित)

माघ २० : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष विविध कार्यक्रमका साथ आयोजना गरी मनाएका छन ।

मञ्जुश्री पात्रोअनुसार हिजोदेखि २८५८ औँ वर्ष सुरु भयो। हिजोकै दिन देखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश भयो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिनुभयो । तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ । यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको थिएन । समितिका कार्यकारी निर्देशक वसन्त लामा यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य, सल्लाहकार मात्र बसेर पूजापाठ गरी ल्होसार मनाएको बताउनुहुन्छ ।

विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको ¥याली निकालिने गरिएको थियो । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होसार मनाइने बताइएको छ ।
काठमाडौंमा ल्होसार विशेष देखिएका केही तस्विरहरु