केपि कुमार जलन/जेष्ठ ३०
आजभोलि जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च हुने गर्छ। तर एनआरएन नर्वेकी सह-कोषाध्यक्ष रिता परियार ले आफ्नो जन्मदिनलाई फरक ढंगले मनाउँदै समाजका अति विपन्न बालबालिकाको अनुहारमा मुस्कान ल्याउने प्रेरणादायी काम गर्नुभएको छ।
धनुषा जिल्लाको सबैला नगरपालिका–१२ बरकुरवा टोलस्थित दलित समुदायका अति विपन्न तथा असहाय बालबालिकाका लागि उहाँले करिब ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको हो। उक्त रकमबाट बालबालिकालाई एक महिनासम्म पुग्ने कापी, कलम तथा अन्य अध्ययन सामग्री वितरण गरिएको छ।
आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन संघर्ष गरिरहेका बालबालिकाका लागि यो सहयोग आशाको किरण बनेको छ। सामग्री प्राप्त गरेपछि बालबालिकाको अनुहारमा देखिएको खुसी र अभिभावकको आँखामा झल्किएको कृतज्ञताले कार्यक्रमलाई अझ भावुक बनाएको थियो।

रिता परियारले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा गरिब तथा असहाय बालबालिकाको शिक्षामा लगानी गर्नु नै सबैभन्दा ठूलो खुसी भएको बताउनुभयो। “शिक्षा नै समाज परिवर्तनको मुख्य आधार हो। बालबालिकाको उज्ज्वल भविष्यका लागि सानो भए पनि योगदान गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ,” उहाँले भन्नुभयो।
हाल नर्वेमा बसोबास गर्दै आउनुभएकी परियारले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिप्रतिको जिम्मेवारीलाई निरन्तर निभाउँदै आउनुभएको छ। उहाँले विभिन्न समयमा आर्थिक, शैक्षिक तथा मानवीय सहयोगका कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ। विशेष कुरा त के छ भने, उहाँले हालसम्म ३०० भन्दा बढी सहयोग कार्यक्रम सम्पन्न गरिसक्नुभएको जानकारी दिनुभएको छ।
स्थानीयवासी तथा अभिभावकहरूले यस्तो सहयोगले विपन्न बालबालिकाको शिक्षामा ठूलो राहत पुगेको भन्दै रिता परियारप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनीहरूले विदेशमा रहेर पनि जन्मभूमिका गरिब तथा असहाय बालबालिकाको भविष्यप्रति देखाएको संवेदनशीलता अनुकरणीय रहेको बताएका छन्।
रिता परियारको यो उदाहरणीय कार्यले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवको रूपमा होइन, मानव सेवा, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनको अभियान का रूपमा मनाउन सकिन्छ भन्ने सन्देश दिएको छ। उहाँको यो प्रेरणादायी कदमले समाजका अन्य व्यक्तिहरूलाई पनि सहयोग र सेवाको बाटोमा अघि बढ्न प्रेरित गर्ने विश्वास गरिएको छ।


















