केपि कुमार जलन
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाँकेको आयोजनामा सम्पन्न “प्रथम बाँके खुल्ला एकल लोकगीत प्रतियोगिता–२०८३” मा बागलुङका प्रतिभाशाली लोकगायक प्रेम विश्वकर्मा प्रथम स्थान हासिल गर्न सफल भएका छन्।
नेपालका विभिन्न जिल्लाबाट आएका प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रेम विश्वकर्माले आफ्नो सुमधुर स्वर, उत्कृष्ट प्रस्तुति र लोकसंस्कृतिप्रतिको समर्पणमार्फत निर्णायक तथा दर्शकहरूको मन जित्न सफल भएका हुन्। प्रतियोगितामा प्रथम हुँदै उनले नगद रु. ४०,०००, प्रमाणपत्र तथा सम्मान प्राप्त गरेका छन्।
बागलुङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका प्रेम विश्वकर्माको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण बागलुङ जिल्लाकै गौरवको विषय बनेको छ। लोकगीत क्षेत्रमा निरन्तर संघर्ष र साधनामा जुटिरहेका विश्वकर्माले आफ्नो प्रतिभालाई राष्ट्रिय स्तरमा स्थापित गर्दै नयाँ पुस्ताका कलाकारहरूलाई समेत प्रेरणा दिएका छन्।
लोकसांस्कृतिक संरक्षण, स्रष्टाको सम्मान र प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा देशभरका कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रतिस्पर्धीहरूबीच कडा प्रतिस्पर्धा भए पनि प्रेम विश्वकर्माले आफ्नो मौलिक प्रस्तुति र उत्कृष्ट गायन कौशलका कारण विजेताको उपाधि चुम्न सफल भए।
यस सफलतासँगै बागलुङका कला, संस्कृति र लोकसंगीतप्रेमीहरूले प्रेम विश्वकर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा नेपाली लोकसंगीत क्षेत्रमा अझ उचाइ हासिल गर्दै देशविदेशमा बागलुङको नाम चिनाउन सफल हुने विश्वास व्यक्त गरिएको छ।

















