अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष पक्राउ

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार साँझ उनलाई पक्राउ गरेको हो। सिआइबीका अनुसार हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा शेर्पाले विभिन्न प्रपञ्च गरी विद्यालयको आठ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ।

अनुसन्धानका क्रममा शेर्पाले विद्यालयलाई अनुचित हानि पुर्‍याउने उद्देश्यले डर, त्रास र अनुचित प्रभाव प्रयोग गर्दै भक्तपुरको दधिकोटस्थित २९ रोपनी चार आना जग्गा आफ्नै स्वामित्वको कम्पनीमा बिक्री गराएको प्रारम्भिक तथ्य फेला परेको सिआइबीले जनाएको छ।