२०औं एसियन गेम्समा पदक विजेता खेलाडीको खातामा पुरस्कार रकम जम्मा

काठमाडौं । जापानको नायोगामा सम्पन्न २०औं एसियन गेम्समा पदक जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकले सरकारबाट पुरस्कार पाएका छन् ।

सरकारले खेलकुद विकास नियमावलीअनुसार नेपाललाई पदक जिताउन सफल करातेका तेञ्जिङ शर्मा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकको खातामा पुरस्कार रकम जम्मा गरिदिएको हो ।

यसअघि २३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले पदक विजेता खेलाडीलाई पुरस्कार दिने निर्णय गरेको थियो । जसअनुसार तेन्जिङले ६ लाख ५० हजार, उनका प्रशिक्षक कुशल श्रेष्ठले १ लाख ३० हजार र व्यवस्थापक युवराज लामाले ६५ हजार पाएका हुन् ।

कबड्डी टोलीका खेलाडीले जनही १ लाख ९५ हजार, मुख्य प्रशिक्षक पार्वती राईले १ लाख ३० हजार, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधारीले समान ६५ हजार पाएका छन् ।

जापानको नायोगामा भएको २०औं एसियन गेम्समा नेपालबाट करातेका तेञ्जिङ र महिला कबड्डी टोलीले कांस्यपदक जितेका थिए ।