मलेसियापछि जापानका लागि प्रस्तावित राजदूतको पनि सुनुवाइ ‘होल्ड’

काठमाडौं । मलेसियाका प्रस्तावित राजदूत चुडामणि खरेलपछि जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको पनि संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ ।

सुनुवाइ समितिले सुरूमा थापालाई कार्ययोजना प्रस्तुत गर्न दिएर थप प्रक्रिया ‘होल्ड’ गरेको हो ।

कार्ययोजना प्रस्तुतिपछि प्रस्तावित राजदूत थापाको पीआर, उनकी श्रीमतीको पनि पीआर रहेको विषयमा सांसदहरूले प्रश्न गरे ।

जवाफमा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिए । सो क्रममा उनले नेपाल जोड्न जापानमा रहदा काम गरेको बताए । ढाकाटोपी लगाएर कार्यक्रम चलाउने आदि गरेको बताए ।

त्यसपछि सांसदहरू आन्तरिक छलफलमा जुटे । यो विषयमा आएको प्रष्टीकरणबारे निर्क्योलमा पुगेर बाँकी छलफल गर्ने भनेर प्रस्तावित राजदूतलाई बाहिर राखेर सांसदहरू आन्तरिक छलफलमा जुटेका थिए ।

अन्तिममा जापानका लागि प्रस्तावित राजदूतको सुनुवाइ होल्ड गरे र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु गरेका छन् ।
यसअघि बुधबारको संसदीय सुनुवाइ समितिमा स्वार्थको द्वन्द, म्यानपावर व्यावसायीसँगको सम्बन्ध, पोखराको जग्गा खरिदको अनियमितता लगायतमा खरेलको संलग्न रहेको भनेर समिति सदस्यहरूले विषय उठाएपछि समिति सभापति बोधनारायण श्रेष्ठले प्राप्त उजुरी अध्ययन गर्न समय चाहिने भएकोले सुनुवाइको प्रक्रिया होल्ड गर्ने निर्णय सुनाएका थिए ।