केपि कुमार जलन

बागलुङ। मुखको क्यान्सरबाट विगत पाँच वर्षदेखि पीडित रहेका बागलुङ जैमिनी नगरपालिका–९ जन्मघर भई हाल जैमिनी–१ कुश्मिसेरा स्थायी बसोबास गर्दै आएका मनबहादुर सुनामको उपचारका लागि कलाकार लक्ष्मण श्रीले आफ्नो तर्फबाट रु. १ लाख आर्थिक सहयोग प्रदान गरेका छन्।
भारतको नयाँ दिल्लीस्थित MAX Healthcare Cancer Hospital मा मुख तथा जिब्रोको शल्यक्रिया (अपरेशन) गर्नुपर्ने भएपछि ठूलो आर्थिक अभाव सिर्जना भएकाले उपचार सहयोग अभियान सञ्चालन गरिएको हो।
सहयोग रकम हस्तान्तरण गर्दै कलाकार लक्ष्मण श्रीले मनबहादुर सुनामको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सक्दो आर्थिक सहयोग गर्न हार्दिक अपिल गरेका छन्। “हाम्रो सानो सहयोगले एउटा अमूल्य जीवन बचाउन ठूलो योगदान पुग्न सक्छ,” उनले बताएका छन्।
मनबहादुर सुनामले विगत पाँच वर्षदेखि आफ्नै खर्चमा उपचार गराउँदै आएका थिए। तर चिकित्सकको सल्लाहअनुसार अब शल्यक्रिया अपरिहार्य बनेपछि आर्थिक सहयोगको आवश्यकता परेको परिवारले जनाएको छ।
पीडितको जीवनरक्षाका लागि सहयोग गर्न इच्छुक महानुभावहरूले ग्लोबल आइएमई बैंकमा रहेको बाबिन सुनामको खातामा रकम जम्मा गर्न वा उपलब्ध गराइएको QR कोडमार्फत सहयोग गर्न सक्नेछन्। साथै यो अभियानलाई बढीभन्दा बढी साझा (Share) गरी सहयोग जुटाइदिन पनि सबैमा अनुरोध गरिएको छ।


















