नेपालमा लैङ्गिक हिंसाको अवस्था चिन्ताजनक, हिंसा भोगेका ५८ प्रतिशत महिलाले कसैसँग सहायता माग्दैनन्

नेपालमा महिला तथा किशोरीमाथि हुने लैङ्गिक हिंसा अझै गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र संयुक्त राष्ट्रसंघले नोभेम्बर २५ मा सार्वजनिक गरेको विवरणअनुसार नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का आधारमा १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षको उमेरपछि शारीरिक हिंसा भोगेका छन्। त्यस्तै, ८ प्रतिशतले यौन हिंसाको अनुभव गरेका छन्।

सबैभन्दा चिन्ताजनक पक्ष, शारीरिक वा यौन हिंसा भोगेका ५८ प्रतिशत महिलाले आफ्नो अनुभव कसैलाई नबताएको वा सहायता नखोजेको तथ्य सार्वजनिक गरिएको छ।

हिंसाका कारण महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्नुका साथै शिक्षा, रोजगारी र आर्थिक स्वतन्त्रतामा समेत बाधा पुग्ने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै पीडितलाई न्याय, सुरक्षा, परामर्श र आर्थिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानले पनि पीडितको संरक्षण र न्याय सुनिश्चित गर्न आह्वान गरेको छ।