नेपालमा गत अगस्ट २६ मा आएको बाढीबाट प्रभावित हजारौँ बालबालिका अहिले जाडो मौसमसँगै थप जोखिममा परेका छन्।
युनिसेफले नोभेम्बर २६ मा सार्वजनिक गरेको विवरणअनुसार भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट अनुमानित ८४ हजार २७० जना प्रभावित भएका थिए। तीमध्ये ३२ हजार २१ जना बालबालिका रहेका छन्।
बाढीले घर, विद्यालय र दैनिक जीवनमा आवश्यक सामग्रीमा क्षति पुर्याएपछि धेरै परिवार पुनःस्थापनाको कठिन अवस्थामा रहेको युनिसेफले जनाएको छ।
करिब ३० हजार बालबालिकालाई सुरक्षित सिकाइस्थल, पुनर्निर्माण गरिएका कक्षाकोठा तथा शैक्षिक सामग्रीको आवश्यकता रहेको विवरणमा उल्लेख छ।
चिसो मौसम बढ्दै जाँदा न्यानो कपडा, कम्बल, सुरक्षित आवास, स्वास्थ्य सेवा र बालबालिकाको शिक्षालाई निरन्तरता दिन तत्काल सहयोग आवश्यक रहेको युनिसेफले जनाएको छ।


















