बागलुङका विद्यार्थीमा संक्रमण देखिएपछि बिद्यालय गरियो बन्द

काठमाडौं, मंसिर १७ :  बागलुङमा कोभिड संक्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा एकै पटक कोभिड संक्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोभिडको लक्षणपछि ८२ जनाको परीक्षण गर्दा एकसाथ २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

उक्त विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार विद्यालयमा पुनः शुक्रबार थप विद्यार्थीको कोभिड परीक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।

घिमिरेका अनुसार विद्यालय भएको समुदायको तीन जनामा समेत कोभिड पुष्टि भएकाले धेरै मात्रमा समुदायमा कोभिड संक्रमित रहेको स्वास्थ्य कार्यालयको अनुमान छ ।

त्यस क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली शुक्रबार जाने र अवस्था बुझेपछि जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन समितिले निर्णय गर्ने जनस्वास्थ्य निरीक्षक घिमिरेले बताए । कोभिड पुनः बढेसँगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ ।

बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ । अहिले धवलागिरि अस्पताल बागलुङको आइसोलेशनमा दुई संक्रमितको उपचार भइरहेको छ ।