माघ १४ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण फैलाउदै हिँडेको भन्दै कारबाही गर्न माग गरिएको हो ।
कोरोना संक्रमण निको नहुँदै सार्वजनिक कार्यक्रममा सहभागि भएका अध्यक्ष ओलीलाई संक्रमण फैलाउदै हिँडेको आरोप लागेको हो । गत माघ ९ गते कोरोना पुष्टि भएका ओली संक्रमणको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए ।
एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका थिए । कार्यक्रममा सांसदसमेत रहेका एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं नेता तथा कार्यकर्ताको उपस्थिति थियो।
यता, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कोरोना फैलाउँदै हिँडेको भन्दै सामाजिक संजालहरुमा उनको चर्को आलोचना भएको छ। उनीमाथि संक्रामक रोग नियन्त्रण ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाहीको माग समेत गरिएको छ।
कोरोनासम्बन्धी प्रशासनको पछिल्लो नियम अनुसार यदी कोरोनाको लक्षण देखिए ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ । साथै, रिपोर्ट पोजेटिभ आएमा स्वास्थ्य अवस्था हेरेर आइसोलेसन बस्नेदेखि रिपोर्ट नेगेटिभ नआएसम्म सार्वजनिक स्थानमा निस्किन पाइदैन ।