हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा:नरेन्द्र मोदि

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुसी लागेको उल्लेख गरेका छन्। साथै उनले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उनको चाहनालाई स्वागत र पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले नेपाल ‘पहिलो छिमेकी’ नीतिअन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबिच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेका छन्।

भेटपछि मोदीले एक्समा नेपालीमा पोस्ट गर्दै लेखेका छन्, ‘नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ। एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु।’

त्यस अवसरमा भारतीय विदेशमन्त्री डा एस जयशंकर, प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभल, विदेशसचिव विक्रम मिश्रीलगायतको उपस्थिति थियो भने नेपालका तर्फबाट सभापति लामिछाने, उनकी धर्मपत्नी नीकिता पौडेल, रास्वपाका नेताद्वय विपीन आचार्य र दीपक बोहरा तथा नयाँ दिल्लीस्थित नेपाली राजदूताबासका उच्च अधिकारीको पनि सहभागिता थियो।

भाजपाका अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको पाँचदिने भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेका हुन्। यसबिचमा सभापति लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गरेका थिए।

उनले अगाडि भनेका छन्, ‘हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ।’

भेटका अवसरमा उनीहरूबिच नेपाल–भारत सम्बन्ध, रास्वपा र भारतीय जनता पार्टी (भाजपा)बिचको सम्बन्ध, दुई देशबिचको आपसी हितका साथै विविध आयामहरूका विषयमा छलफल भएको थियो।