असार १५ः हराउदै गएको मौलिकता भित्रिदै गरेको उच्छृङ्खलता

असार १५ः आज धान दिवस अर्थात् मुठी रोपेर मानो वा मुरि उब्जाउने दिन । परापूर्व कालदेखि नै हाम्रो मुलुकमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आईरहेको छ । नेपालका किसान संघ-संगठनहरुले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् । करिव १८ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा-परिचर्चा पाउने गरेको छ ।

नेपालको मुख्य खाद्य वाली धान नेपालको इतिहास, यहाँको सभ्यता र संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अंग रहेकाले हुनपर्छअसार १५ वा धान दिवस एक उत्सवका रुपमा रहेको छ । यसपटक पनि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाईदैछ। धान दिवस कसरी मनाईन्छ त भन्ने प्रश्नमा केही परापूर्वकालका हाम्रा अग्रजहरु यसो भन्नुहुन्छ।

धान रोप्ने दिन असार १५ नै कुर्नुपर्छ भन्ने थिएन मौसमले साथ दिए खेत भरी पानी जमे रोपारहरुलाई जानकारी गराएर फलानोको दिनमा धान रोप्ने भने पछि सवै रोपारहरु एकजुट हुन्थे । अघिल्लो दिन देखि गाउँघरतिर हलो तथा कोदालीको प्रबन्ध गर्नुको साथै गोरुहरुलाई तयारी अवस्थामा राखिन्थ्यो । कसैकसैले बेलुका देखिनै खानेकुराहरु तयारी अवस्थामा राख्थे भने कसैले गित गाउनको लागि परम्परागत मादलको जोहो पनि गर्थे । र भोलिपल्ट धान रोप्ने दिन सवै रोपारहरु खेतमा आईपुग्थे । सवै जनाले एक आपसमा असारे मौलिक भाकामा गित गाएर धान रोप्थे । महिलाहरुलाई रोपार भन्थे भने पुरुष हरुलाई बाउसे गर्ने भन्थे । खेतमा जमेको पानीमा आली जस्तो भएको हुन्थ्यो र पुरुष बाउसेहरुले कोदालीको सहायताले खेतमा भएको ड्याङहरुलाई फुटाएर धान रोप्नको लागि माटो र पानीको अवस्था निकै नै समथर मिलेको बनाउँथे र रोपारहरुले सोही अनुसार धान रोप्दै आउँथे ।

बाउसे र रोपार बिच धान रोप्दै असारे गीतहरु गुन्जिन्थे । कोही हा हा माले हह………..भन्थे, कोही पहिले पहिलेका किसानको रहर भन्ने गित गाउँथे छुपुमा छुपु हिलोमा धान रोपेर छोडौंला बनाई कुलो लगाई पानी आएर गौडौंला र महिला रोपारहरुको त कुरै नगरौं अत्यन्तै रमाईलो असारे भाकामा गित गाउँथे । र सो क्रम चलिरहँदा धान रोपाइँ सकिएछि बनाएको खाजा दही चिउरा, अचार तरकारी लगाएत खानेकुराहरु खान्थे । धान रोपेको दिन दही चिउरा खानाले गती परिन्छ भन्ने पनि मान्यताले र चलनचल्ती रहेको थियो र आज सम्म पनि असार १५ को दिन दही चिउरा लगाएत खानेकुरा खाने गर्दछन् । र यसरी पहिलेको धान दिवसले आफ्नो छुट्टै मौलिकता, र परम्पराको जगेर्ना गरेको थियो । अहिले मानिसहरुलाई त्यसैको ठीक उल्टो परिभाषित भएको छ । धान दिवसको दिन हाम्रो मौलिकतालाई मासेर बिकृति तर्फ उन्मुख भएको देखिन्छ ।

हिलो छ्यापा छ्याप गर्ने, चाहना होस् या नहोस् जबरजस्ती हिलोमा पछार्ने, उच्छृङ्खल कामहरु गर्ने, गित गाउँदा बिभिन्न अपशब्दरुपी भाकामा गित गाउने, खानेकुराहरुमा मादक पदार्थ सेवन गर्ने जस्ता कृयाकलापहरुले गर्दा के बास्तबिक रुपमा नै धान दिवसले सार्थकता पाउँछ त रुयो हाम्रो पुस्ताको लागि सोचनीय प्रश्न हो, अहिले त ति पुराना मौलिकता तथा परम्परा झल्कने गित या रोपाइँ देख्न पनि मुस्किल पर्छ । दिनानुदिन खेतीयोग्य जमिनको ह्रासका कारण धेरै कङ्किृटको घरहरुले गर्दा धान उमार्ने खेती पनि मासिँदै गईरहेको अवस्था छ । खेतियोग्य जमिन मासिनाले हामीले बर्षेनी चामल आयातको लागि विदेशी मुलुकसँग भर पर्नुपर्ने अवस्था आएको छ ।

अहिलेपनि नेपालमा अमेरिका इटाली र भारत जस्ता देशबाट बर्सेनि १५ अर्बको चामल , १६ अर्बको धान नेपालमा आयात गरिन्छ र अर्को तिर हाम्रो मौलिकता र परम्परा लोप भई बर्षेनी धान दिवसको नाममा बिकृति र बिसंगतिले रुप लिँदै छ। हामीले सकेसम्म श्रोत र साधनले भ्याए सम्म हाम्रो मौलिकता तथा परम्पराहरुलाई बचाई राख्नु पर्दछ । धान दिवसको नाममा जथाभावी फोटो खिच्ने, बिकृति जन्य वातावरण सिर्जना गर्ने, लगायत कार्यले गर्दा दिनानुदिन मुलुकमा बिभिन्न चाडपर्वको नाममा समेत बिकृतिहरु देखिँदै आईरहेको तपाई हामीले नै मूल्याकङ्न गर्न सक्छौं ।

वास्तविक किसानले अहिलेपनि मल नपाएर दिनदिनै भौतारि रहेका छन, सरकार उनीहरुको घाउमा मलम लाउन तयार देखिदैन वर्षेनी आश्सवासन बाहेक केहि दिन नसकेको सरकार र वास्तविक किसानलाई गिजोलीरहेको हामीलेसम्झनुपर्छ असार १५ मा धान रोप्ने चाप अधिक हुने भएकाले खेतमा अत्यधिक काम गरेर थकित बनेका खेतालालाई शरीरमा तागत आओस शक्ति संचित होस भन्ने अर्थमा खाईन्छ दही चिउरा नकी चिल्लो सोफा माथी बसेर खाइ रहेको तस्वीरसामाजीक संजालमा राखेर तमासा गर्नलाइ हैन ।

धान दिवस मात्र नभएर हाम्रो धेरै मौलिक तथा संकृतिक रितिरिवाज तथा चाडपर्वहरुको नाममा बिकृति नफैलियोस् । हाम्रो आफ्नै पुरानो चाडपर्व, रितिरिवाज तथा मौलिकताको जगेर्ना गरौं । नेपालमा लगभग २ हजार जातका धान पाइने गरेको तथ्याङ्कले बताउँछ । तर, तीमध्ये सयौं प्रजाति हराइसकेका पाईन्छ र अन्य लोप हुने क्रममा छन् । नेपालमा प्रसिद्ध धानहरुमा पोखरेली जेठो बुढो, सुनौलो सुगन्ध, लल्का वास्मती, कालो नीमग, जुम्ली मार्सी, जरायल वास्मति, घैया, अनदी आदि हुन् । स्वादमा पोखरेली जेठोबुढो, सुनौलो सुगन्ध, लल्का वास्मति, कालो गुडो, कालोनमक, जरायल वास्मती, चनानचुर, तिल्की, पाम्ली हाम्रा अमुल्य स्वाद र बास्नायुक्त धान हुन् । अनदी र पात्ले धानको प्रयोग औषधीको रुपमा प्रसिद्ध छन् । अनदी र थापा चिनीया धान बाढीले नबगाउने तथा बढी पानीले नबिग्रार्ने र सिमस्याहारमा पनि हुने मानिन्छन् । जुम्ली मार्सी विश्वको सबैभन्दा उच्च ठाउँमा गरिने धान खेति हो । मन्सरा, अन्गा, मुट्मुर, गुर्दी जस्ता धान कम पानीको टारी खेतमा पनि लगाउन सकिन्छ ।

धान खेती परम्परागतवाट आधुनिक कृषि प्रणालीमा रुपान्तरण हुँदा नेपालमा जस्तै एशियाभर विभिन्न उत्पादनशील धानका प्रजातिको लोप हुँदै गैरहेका छन् । आधुनिक निगमिय खेतिले परम्परागत खेती प्रणाली र अनुवंशीय विविधताको द्रुत गतीमा क्षति गर्दै छ । यसले धान उत्पादन सँग जोडिएको सामाजिक सांस्कृतिक प्रणालीलाई कमजोर बनाउनुका साथै समुदायकोे अस्तित्व र धान खेतीको मौलिकता नाश गर्दैछ ।

राष्ट्रसंघका अनुसार अहिले विश्वमा भोकमरी र कुपोषणबाट ग्रसित देखिएका १ अरब जनतामध्ये ६० प्रतिशत भन्दा वढी जनता एशिया र प्रशान्त क्षेत्रीय देशमा रहेका छन् । अझ विश्वको ५० प्रतिशत भन्दा वढी कुपोसित वालवालिकाहरु दक्षिण एशियाको ग्रामिण क्षेत्रमा बसोबास गर्छन् । त्यसैले पनि धान खेतिका साथ अनेकन सवालहरु जोडिएका छन् ।
नेपाली संस्कृतिमा भातको महत्व बढी छ । यसलाई विविधिकरण र सन्तुलितरुपमा उपभोग गर्न आवश्यक छ । कर्णालीमा भोकमरी र खाद्य संकट नभई सेतो चामल संकट भएको कुरा समय समयमा सार्वजनिक हुन्छ । विहान बेलुका भात खाने वानी शहरीया मध्यम वर्गलाई मधुमेह लगायतका रोगका कारण र ग्रामीण किसानलाई शक्ति र षोषणका कारण उपयुक्त देखिँदैन । नेपालमा यो वर्ष आयात भएको लगभक २९ अरवको मसिनो चामलले पनि भात संस्कृतिमा सुधार गरी खाद्यान्नमा विविधिकरण र पोषण सन्तुलनको अत्यावश्यकतालाई दर्शाउछ ।

नेपालको मुख्य खाद्य वाली धान नेपालको इतिहास र यहाँको सभ्यता र संस्कृतिसँग जोडिएको छ, असार १५ वा धान दिवस एक उत्सवका रुपमा मनाई रहेका हामी हराउदै गएको रोपाइँमा मौलिकता प्रति कति चिन्तित छौ रु मज्जाले चिउरा र दही संग रमाएको मेरो पुस्ताले असार पन्ध्रको महिमा र यस विशेष दिनको महत्व, किसान अधिकार र किसानका सवालहरु तथा हाम्रो सभ्यता र संस्कृतिको रुपमा रहेको मुख्य खाद्यवाली धान बारे कति सचेत छ ? धान दिवशले धान बचाऔं अभियानलाई बलियो बनाउनुका साथै किसान अधिकार सुनिश्चित गर्ने तथा मल, विउ लगायतका किसानका तत्कालिन समस्या समाधान गर्दै खाद्य सम्प्रभुता प्राप्त गर्ने र कृषिको रुपान्तरण गर्ने लगायतका पक्षमा ध्यान आकृष्ट गर्न सफल रहोस् । धान दिवशको हार्दिक शुभकामना ।