लोक संस्कृति माथि प्रहार : विकृती बन्दै नेपाली संगीत

केपि कुमार जलन, बागलुङ

नेपाली गीत–संगीत हाम्रो कला, संस्कृति, पहिचान र भावनाको सुन्दर अभिव्यक्ति हो । लोकदोहोरीदेखि आधुनिक, पप, देउडा, सेलो, झ्याउरे हुँदै विभिन्न शैलीका गीतहरूले नेपाली समाजको पीडा, प्रेम, संघर्ष, संस्कार र सभ्यतालाई संसारभर चिनाएका छन् । तर पछिल्ला केही वर्षयता नेपाली गीत–संगीतको क्षेत्रमा देखिएका विकृति र विसङ्गतीले वास्तविक कला र सर्जनामाथि नै प्रश्न उठ्न थालेको छ ।

आज संगीत सिर्जनाभन्दा बढी चर्चा कमाउने होड चलेको देखिन्छ । गीतको शब्दमा गहिराइभन्दा अश्लीलता, मौलिकताभन्दा नक्कल, र संस्कृतिभन्दा सस्तो लोकप्रियतालाई प्राथमिकता दिन थालिएको छ । दर्शक तान्ने नाममा दोहोरो अर्थ लाग्ने शब्द, उच्छृंखल दृश्य र सामाजिक मूल्यविपरीतका प्रस्तुति बढ्दै गएका छन् । यसले विशेषगरी युवा पुस्तामा गलत प्रभाव पारिरहेको छ ।

पहिला गीतले समाजलाई दिशा दिन्थ्यो, चेतना जगाउँथ्यो, प्रेम र मानवताको सन्देश दिन्थ्यो । तर अहिले कतिपय गीतहरू केवल “भ्युज” र “ट्रेन्डिङ” का लागि निर्माण गरिएका जस्ता देखिन्छन् । टिकटक र सामाजिक सञ्जालको प्रभावले छोटो समयमै चर्चित हुने लालसामा गुणस्तरीय सिर्जना ओझेलमा परिरहेका छन् । एउटा सर्जकले वर्षौं लगाएर बनाएको अर्थपूर्ण गीतभन्दा केही घण्टामै बनाइएका हल्का र फोहोर शब्दका गीतहरू भाइरल हुने अवस्था सिर्जना भएको छ ।

यसका साथै नेपाली मौलिक भाका र संस्कृतिमाथि पनि खतरा बढ्दो छ । विदेशी शैलीको अन्धानुकरण गर्दै नेपालीपन हराउँदै जानु दुःखद विषय हो । गाउँघरका मौलिक लोकभाका, पञ्चेबाजा, सालैजो, झ्याउरे, रोइला जस्ता अमूल्य सम्पदाहरू विस्तारै ओझेलमा पर्दै गएका छन् । नयाँ पुस्तालाई आफ्नो मौलिक संगीतभन्दा बाहिरी प्रभाव बढी आकर्षक लाग्न थालेको अवस्था चिन्ताजनक छ ।

अर्कोतर्फ संगीत क्षेत्रमा राजनीति, समूहवाद र पहुँचको प्रभाव पनि बढेको गुनासो सुनिन्छ । वास्तविक प्रतिभाभन्दा पहुँचवालाले अवसर पाउने, संघर्षशील कलाकार ओझेलमा पर्ने र आर्थिक अभावकै कारण धेरै प्रतिभा हराउने अवस्था अझै विद्यमान छ । यसले सच्चा कलाकारहरूको मनोबल कमजोर बनाएको छ ।
यद्यपि सबै कुरा नकारात्मक मात्र छैनन् ।

अहिले पनि धेरै सर्जक, संगीतकार, गायक–गायिका र स्रष्टाहरू नेपाली कला र संस्कृतिको संरक्षणमा निरन्तर लागिरहेका छन् । मौलिक गीत–संगीतलाई जोगाउन र स्वस्थ मनोरञ्जन दिन खोज्ने कलाकारहरू नै नेपाली संगीतका वास्तविक आशा हुन् । अब आवश्यक कुरा भनेको दर्शक–श्रोताले पनि राम्रो र स्तरिय सिर्जनालाई साथ दिनु हो । किनकि समाजले जे रुचाउँछ, बजार त्यहीँतर्फ जान्छ ।

नेपाली गीत–संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो हाम्रो पहिचान र सभ्यता हो । त्यसैले यस क्षेत्रमा फैलिँदै गएका विकृति र विसङ्गतीलाई समयमै नियन्त्रण गर्दै मौलिकता, संस्कार र सिर्जनशीलतालाई जोगाउनु आजको आवश्यकता बनेको छ । कला बच्यो भने संस्कृति बच्छ, संस्कृति बच्यो भने हाम्रो अस्तित्व बाचिरहन्छ ।