नेपालका व्यावसायिक मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले विश्वचर्चित ‘रोड टु युएफसी’ सिजन ५ मा ऐतिहासिक सफलता हात पारेका छन्।
चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा बिहीबार भएको क्वाटरफाइनल भिडन्तमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउण्डमा पराजित गर्दै रविन्द्र सेमिफाइनलमा प्रवेश गरेका हुन्।
यो जितसँगै ‘बझाङको बाघ’ उपनामले चिनिने २७ वर्षीय रविन्द्र ‘रोड टु युएफसी’ मा सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। उनले फिलिपिन्सका अनुभवी फाइटर किम्बर्टलाई खेलको सुरुवातदेखि नै लगातार दबाबमा राखेका थिए।
ब्यान्टमवेट विधाको यस प्रतियोगितामा हजारौं नेपाली समर्थकहरू रविन्द्रलाई हौसला दिन एरेना पुगेका थिए। अब सेमिफाइनलमा रविन्द्रले जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीच हुने खेलको विजेतासँग भिड्नेछन्।

















