सन्थाली गाउँ, जुन गाउँले दियो भारतलाई महिला राष्ट्रपति ‘मुर्मु’

बुधबार, अपराह्न ४ बजे। राष्ट्रिय राजमार्ग २२० मा पर्ने काडुआनी चोकमा गाडी रोकियो। त्यहाँ एक तरकारी व्यापारी व्यापारमा व्यस्त थिए। गाडी चालकले उनलाई केही सोध्नै लागेका थिए। तर उनी आफैँले सोधे, ‘द्राैपदी मुर्मुको गाउँ जाने बाटोको जानकारी चाहियो?’

काडुआनीका सबैलाई थाहा भइसकेको थियो, त्यहाँ पुग्ने नयाँ यात्रीले मुर्मुको गाउँ उपरबेदा जाने बाटो सोध्छन् भनेर। यसकारण कसैले उनीहरूलाई बोलाउनुअघि नै जवाफ आइसक्थ्यो, भारतकी नयाँ राष्ट्रपतिको गाउँ जाने बाटो यता हो।

ओडिसा राज्यको राजधानी भुवनेश्वर सहरबाट करिब दुई सय ६० किलोमिटर पर छ उपरबेदा। यो गाउँ तीन फरक राजमार्ग हुँदै जान सकिन्छ। जताबाट गए पनि घना जंगल कट्नुपर्छ। जुन लगभग एक सय किलोमिटर लामो छ।

उपरबेदा पुगुन्जेल राजमार्ग र सहायक राजमार्गमा निकै गाउँ छन्। यात्रा गर्ने जोकोहीलाई पनि गाउँका दृश्यका कारण रमाइलो लाग्न सक्छ। सडकका दायाँ र बायाँ खेत अनि खेतमा काम गरिरहेका महिला, गाडीभित्रबाट देखिने प्रायः दृश्य यस्तै थिए।

कोहीचाहिँ बस्तुभाउ चराएर घर फर्कंदै गरेका। ती गोठाला र बस्तुभाउलाई छिचोलेर निरन्तर चलिरहेका अटोरिक्साले त्यस क्षेत्रको यातायात व्यवस्थाको चिनारी दिइरहेका थिए।

उपरबेदा पुग्नै लाग्दा एउटा साँघुरो पुल भेटिन्छ। पुलको मुखमा सूचना कुँदिएको छ। जहाँ लेखिएको छ, माननीय मन्त्री द्रोपदी मुर्मुले सन् २००० मा शिलान्यास गरेको। पुलबाट अलिक पर पुग्दा भाँडा माझ्दै गरेकी एक महिला भेटिइन्। ‘दिदीको घर? अलिकति अगाडि छ। सीधै जानुस्,’ उनले जानकारी दिइन्।

गाउँको मध्यभागमा मुर्मुको पुख्र्यौली घर छ। भर्खरै पोतिएको रङका कारण घर चिटिक्क देखिन्छ। अनि गाउँका अन्य घरभन्दा फरक पनि। उपरबेदा ओडिसा राज्यको मयुरभन्ज जिल्लामा पर्छ।

यहाँको जनसंख्या करिब २५ सय छ। घरचाहिँ लगभग पाँच सय जति छन्। गाउँमा बसोबास गर्नेमध्ये ५५ प्रतिशत आदिवासी छन्। तीमध्ये पनि सन्थाल जातिको संख्या धेरै छ। मुर्मु सन्थाल जातिकी हुन्।
गाउँमा एकएक माध्यमिक विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्र छन्। गाउँको मुख्य सडक कालोपत्रे छ। जसले उपरबेदालाई कादुआनीसँग जोड्छ। कादुआनीबाट करिब १५ किलोमिटर पर राइरंगपुर छ। जो यो क्षेत्रको सबैभन्दा ठूलो बजार हो। यहीबाट मुर्मुले आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन्। सन् १९९७ मा उनी यहाँ ‘वार्ड काउन्सिलर’ बनेकी हुन्।

उपरबेदा र कादुआनीलाई आपसमा जोड्ने सडकको लगभग मध्यभागबाट एउटा खोला बग्छ। खोलामाथि पक्की पुल बनाइएको छ। यो पुल त्यतिबेला बनेको हो, जब मुर्मी ओडिसा राज्यको व्यापार तथा यातायातमन्त्री थिइन्। यो सन् २००० तिरको कुरा हो। सन् २००४ मा भएको विधानसभा निर्वाचनमा उनी दोस्रो पटक विजयी भएकी थिइन्।

उपरबेदामा धेरैजसो किसान छन्। थोरैचाहिँ सेना र अर्धसैनिक बलमा जागिर खान्छन्। यो संख्या ५० केही बढी भएको स्थानीय प्राथमिक विद्यालयका शिक्षक लेबाराम हाइबुरीको अनुमान छ। ‘विद्यालयस्तरको शिक्षा पूरा गर्ने युवा सेना वा बीएसएफ र सीआरपीएफ जस्ता अर्धसैनिक बलमा भर्ती हुने प्रयास गर्छन्,’ हाइबुरी भन्छन्।

बाख्रा र कुखुरापालन गाउँको आम्दानीको स्रोत हुन्। गाउँका धेरै मान्छे व्यावसायिक बाख्रा र कुखुरा पालनमा संलग्न छन्। तर गाईगोरुलगायतका जनावर पाल्नेको संख्याचाहिँ घट्दो छ। ‘पहिलेपहिले कृषिकर्ममा लाग्नेलाई बस्तुभाउ आवश्यक पर्थ्यो। अचेल खेती गर्ने तरिका फेरिएको छ। यसकारण बस्तुभाउ पाल्ने मान्छे पाल्ने धेरै छैनन्,’ स्थानीय सुकुलाल मुर्मु भन्छन्।

उपरबेदाबाट विधानसभा सदस्यमा निर्वाचित हुने पहिलो व्यक्ति होइनन् मुर्मु। कार्टिक चरण माझी सन् १९६७ मा स्वतन्त्रकै हैसियतमा राइरंगपुर सिटबाट विधानसभा सदस्य बनेका थिए। उनी सहरी विकासमन्त्री पनि भए। सन् १९६७ मा केही महिना मन्त्री पदमा रहेका उनी सन् १९६९ देखि १९७१ सम्म सोही पदमा फर्केका थिए।

राइरंगपुरबाट संसद्मा निर्वाचित हुने अर्का नेता थिए, भावेन्द्रनाथ मुर्मो। सन् १९८५ मा निर्वाचित भएका उनको केही वर्षपछि मृत्य भएको थियो।

पारिवारिक अवस्था

द्रोपदी मुर्मु परिवारका तीन सन्तानमध्ये एक्ली छोरी हुन्। उनका स्वर्गीय दाजु भगतचरण टुडुकी श्रीमती चूडामणि र दुई छोरा उपरबेदामै बस्छन्। मुर्मुका भाइ तारानिसेन भने उनीसँगै बस्छन्। मुर्मुकी सौतेनी आमा र सौतनी भाइको घर पनि उपरबेदामै छ।

राष्ट्रपति बनिसकेपछि अब मुर्मुको अधिकांश समय नयाँदिल्लीमै बित्नेछ। तर उपरबेदाबासीहरूको इच्छा छ, भारतकी नयाँ राष्ट्रपति कसकेम एकपटक गाउँ आऊन्।

‘राष्ट्रपतिको सुरक्षा प्रोटोकलबारे हामीलाई धेरै ज्ञान छैन। तर आशा छ राष्ट्रपतिका रूपमा उनी कमसेकम एकपटक गाउँ आउनेछिन्। उनी गभर्नर हुँदा पनि गाउँ आएकी थिइन्,’ मुर्मुकी नातेदार सरस्वती टुडु भन्छिन्।

मुर्मुको औपचारिक शिक्षाको सुरुवात उपरबेदाकै स्थानीय प्राथमिक विद्यालयबाट सुरु भएको थियो। त्यसपछि १३ वर्षको उमेरमा उनी भुवनेश्वर गइन्। पढ्नका लागि गाउँ छाडेर त्यत्तिको टाढाको सहर जानु सामान्य कुरा थिएन।
सन् १९७० को दशकमा उपरबेदाबाट २६० किलोमिटर टाढाको भुवनेश्वरसम्मको यात्रा चुनौतीपूर्ण थियो। व्यवस्थित सडक थिएनन्। उसै पनि कमजोर आर्थिक पृष्ठभूमि भएका सन्थाल जातिले छोरीलाई त्यति टाढा राखेर पढाउने चलन थिएन।

भुवनेश्वरमा मुर्मुले रमादेवी महिला क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गरिन्। त्यसपछि उनले ओडिसाको सिँचाइ विभागमा जागिर पाइन्। सन् १९७९ मा कनिष्ठ सहायकको पदबाट जागिर सुरु गरेकी उनको दुई वर्षपछि विवाह भयो।

मुर्मुका श्रीमान् राइरंगपुरमा बैंकको जागिरे थिए। श्रीमान्सँगै बस्नका लागि उनले आफ्नो सरकारी जागिर त्यागिन् र राइरंगपुर नै फर्किइन्। त्यसपछि उनी ‘अरबिन्दो इन्टरगल एडुकेसन सेन्टर’ नाम गरेको शैक्षिक संस्थामा पढाउन् थालिन्। त्यो उनको जागिर थिएन, स्वयंसेवा थियो। सन् १९९४ देखि १९९७ सम्मको समय उनले त्यसरी नै बिताइन्।

मुर्मुका पूर्वविद्यार्थी अभिषेक दास मुर्मुलाई आदरपूर्वक सम्झिन्छन्। ‘उहाँ त हाम्रा लागि आमाजस्तै हुनुहुन्थ्यो, फकाएर पढाउने। विद्यार्थीभन्दा पहिले कक्षामा पुगिसक्नुहुन्थ्यो। उहाँले सोधेका प्रश्नको जवाफ दिए, चक्लेट पाइन्थ्यो,’ ३१ वर्षीय दास भन्छन्।

कसैसँग एकपटक परिचय भएपछि कहिल्यै नबिर्सने मुर्मुको स्वभाव रहेको उनीसँगै अध्यापन गरेकी इन्दिरा होटाको अनुभव छ। ‘हामीले केही वर्ष सँगै पढायौँ। त्यसपछि उनी राजनीतिमा होमिइन्। मन्त्री बनिन्। अहिले त राष्ट्रपति नै चुनिइसकेकी छन्। तर पनि हामी पुराना साथीसँग उनको सम्बन्ध हार्दिक छ। उनले हामीलाई अझै पनि बिर्सिएकी छैनन्,’ होटा भन्छिन्।

मुर्मुको विवाह पहाडपुरमा भएको हो। यो ठाउँ उपरबेदाभन्दा १५ किलोमिटर टाढा छ। जब उनी झारखण्ड राज्यको गभर्नर बनिन्, तब उनले पहाडपुरमा रहेको घरलाई विद्यालयमा बदलिन्।

‘एसएलएस मेमोरियल रेसिडेन्टल स्कुल’ नाम गरेको सो विद्यालयमा आर्थिक रूपमा पिछडिएकाहरूको सन्तानलाई कक्षा १० सम्म निःशुल्क पढाइन्छ। छात्रावासमा बसेको पैसा लाग्दैन। उनले यो विद्यालय सञ्चालनका लागि आफ्नो परिवारको साढे चार बिघा जग्गा दान गरेकी थिइन्। यो विद्यालयमा हाल एक सय विद्यार्थी छन्। विद्यालयको नामचाहिँ श्रीमान् श्याम चरण, छोराद्वय लक्ष्मण र सिपुनको नाममा राखिएको हो।

दुःखदायी विगत

द्रौपदी मुर्मु राजनीतिमा प्रवेश गर्नुअघि नै उनका बुवाको निधन भएको थियो। उनकी आमा भने सन् २०१५ मा बितेकी थिइन्। त्यसपछि उनले आफ्ना दुई छोरालाई गुमाइन्।

जेठो छोरा लक्ष्मणको सन् २०१० मा २६ वर्षको उमेरमा निधन भएको थियो। निधनको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। त्यसको तीन वर्षपछि सिपोन पनि बिते। सन् २०१३ मा एक सडक दुर्घटनामा परी २८ वर्षीय सिपोनको निधन भएको थियो।

कान्छा छोरालाई गुमाएको एक वर्षपछि नै उनले श्रीमान् श्याम चरणलाई पनि गुमाउनुपर्‍यो। श्याम ५६ वर्षका थिए। मुर्मुकी एक छोरी छिन्। छोरी इतिश्री भुवनेश्वरस्थित एक बैंकमा कार्यरत छिन्। उनका श्रीमान् गणेश हेमब्राम भने रग्बी खेलाडी हुन्।
परिवारका सदस्यलाई लगातार गुमाउनुपरेपछि पीडामा परेकी मुर्मुलाई सम्हाल्ने केही मान्छेमध्ये एक हुन् ब्रह्माकुमारी सुप्रिया। सुप्रियाकै कारण उनी प्रजापति ब्रह्माकुमारी ईश्वरिया विश्वविद्यालयसँग नजिक छिन्। भारतीय जनता पार्टीले राष्ट्रपतिको उम्मेदवार घोषणा गरेको एक दिनपछि मुर्मु सो विश्वविद्यालय पुगेकी थिइन्।

‘हामी उनलाई पहिलाबाटै चिन्थ्यौँ। जब उनी राजनीतिक जीवनमा सक्रिय भइन्, तब हामीबीच सम्बन्ध थप गाढा बन्दै गयो। जेठा छोरा गुमाएपछि उनी साहै्र पीडामा थिइन्। उनलाई मानसिक शान्तिको आवश्यकता थियो। त्यसपछि उनले ब्रह्माकुमारीको पद्धति अपनाइन्। पूर्ण रूपमा शाकाहारी बनिन्। दैनिक ध्यान गर्न थालिन्। मलाई लाग्छ यी कुराले उनलाई केही हदसम्म सम्हाले,’ सुप्रिया भन्छिन्।

ब्रह्माकुमारी मिनाती मुर्मु उदाहरणीय राष्ट्रपति बन्ने विश्वास गर्छिन्। ‘सबै किसिमका सुखबाट टाढा बस्ने राजाजस्तै हुनेछिन् उनी। वास्तवमा उनमा जादु छ। जसको उपयोग गर्दै उनले सबै भारतीयको हृदय छुन सक्नेछिन्। उनको व्यक्तित्वको चर्चा भारतमा मात्रै होइन विदेशमा पनि हुनेछ,’ मिनातीको विश्वास छ। टाइम्स अफ इन्डियाबाट