नेपाली समाजमा अरूले गरेको राम्रो काममा होस्टेमा हैंसे गर्नुको साटो खुट्टा तान्ने प्रवृत्ति हावी भएको पूर्व प्रधानमन्त्री कार्कीको निष्कर्ष छ। राम्रो काम गर्न खोज्ने व्यक्तिलाई अदालतमा मुद्दा हालेर उल्झनमा पार्ने र पत्रपत्रिकामा खोइरो खनेर निरुत्साहित गर्ने गरिएको उदाहरण उनले पेस गरिन्।
‘हामीमा छिट्टै सबै कुराको आश गर्ने र अलिकति पनि परिश्रम नगर्ने कमजोरी छ,’ उनले भनिन्, ‘आलोचना मात्रै बढी गर्ने तर आफूले चाहिँ काम नगर्ने प्रवृत्तिले हामीलाई पछाडि पारेको छ।’
देशका संस्थाहरू आवश्यकताभन्दा बढी राजनीतीकरण हुनु र व्यक्तिवादी चिन्तन हावी हुनुलाई उनले अर्को ठूलो कमजोरी मानेकी छन्।
मुलुकको समग्र विकासतर्फ नभई आफू र आफ्नो पार्टीलाई मात्र केन्द्रमा राख्ने प्रवृत्तिले देश बिग्रिएको उनको भनाइ छ। दलगत स्वार्थको उदाहरण दिँदै उनले भनिन्, ‘कांग्रेसले बहुमत ल्याएर शासन गर्दा कांग्रेसका मान्छेले मात्रै फाइदा लिने र एमालेले जित्दा एमालेका मान्छेले मात्रै बाँच्न र खान पाउने प्रवृत्ति छ।’
निर्वाचन लगत्तै सुरु हुने अस्वस्थ राजनीतिक खेल र अस्थिरताप्रति पनि उनले चिन्ता व्यक्त गरिन्। एउटा दलले सरकार चलाउन सुरु गर्नासाथ अर्को पार्टीले सडकमा बार भत्काएर नारा–जुलुस गर्ने परिपाटीले काम गर्ने वातावरण नै नबनेको उनले सुनाइन्।
निर्वाचनपछि सरकार सबै जनताको हुनुपर्नेमा दल विशेषको मात्रै बन्ने गरेकोतर्फ उनले कटाक्ष गरिन्।
भ्रष्टाचार र राज्यका निकायमा हुने नियुक्तिमा मौलाएको आर्थिक लेनदेनले देशलाई झनै कमजोर बनाएको कार्कीको भनाइ छ। पशुपति र लुम्बिनीजस्ता पवित्र स्थलहरूको नियुक्तिमा समेत सोझै पैसाको चलखेल हुने गरेको उनले उदाहरण दिइन्।
उनले थपिन्, ‘कुनै पनि नियुक्तिमा पैसा नदिई हुँदैन भन्ने भाष्य स्थापित भइसकेको छ, यस्तो छाडा र नियन्त्रणविहीन अवस्थालाई समयमै नरोके मुलुक अगाडि बढ्न सक्दैन।’
नेपाल रिपब्लिक मिडियाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले छिट्टै प्रतिफलको आश गर्ने तर परिश्रम नगर्ने चरित्रले देशको विकासमा गम्भीर बाधा पुगेको औंल्याएकी हुन्।

















