काठमाडौं । देशभरको मौसम शुक्रबार फेरि बिग्रिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार र विशेषगरी शुक्रबार केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार बिहीबारको तुलनामा शुक्रबार वर्षाको गतिविधि बढ्नेछ । तर, शुक्रबार रातिदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जाने र शनिबारदेखि वर्षाको गतिविधि निकै कम हुने पूर्वानुमान छ ।
पछिल्लो २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा बढी वर्षा भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मात्र वर्षा भएको विभागले जनाएको छ । डडेल्धुरा र कैलाली आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ ।
बिहीबार बिहान इलाम, झापा, सर्लाही, महोत्तरी र धनुषा आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ भने अन्य भूभागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।
बिहीबार दिउँसो पहाडी भूभागका ५० देखि ८० प्रतिशत स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा १० देखि ३० प्रतिशतसम्म वर्षा हुने अनुमान गरिएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने मौसमविद् लामिछानेले बताए । राति भने दिउँसको तुलनामा मौसममा केही सुधार आउनेछ ।
शुक्रबार बढ्नेछ वर्षाको जोखिम
शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागको पूर्वानुमान छ ।
कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हावाहुरी र चट्याङसहित भारी वर्षा हुन सक्ने सम्भावना छ ।
जोखिमलाई मध्यनजर गर्दै विभागले शुक्रबारका लागि कोशी र बागमती प्रदेशका पहाडी भूभाग तथा सुदूरपश्चिमका केही स्थानमा ‘पहेँलो रङ’को चेतावनी जारी गरेको छ ।
मौसमविद् लामिछानेका अनुसार पहेँलो रङको चेतावनीको अर्थ मौसमको अवस्थाबारे अद्यावधिक भइरहनु र आवश्यक पूर्वतयारी गर्नु हो ।
शनिबारदेखि खुल्दै जाने मौसम
शुक्रबार रातिदेखि पश्चिमी क्षेत्रबाट मौसम क्रमिक रूपमा सुधार हुँदै जाने विभागको अनुमान छ । शनिबार दिउँसो कोशी र बागमतीका पहाडी भूभागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मात्र हल्का वर्षा हुने सम्भावना छ ।
तराईका क्षेत्रमा शनिबार वर्षाको सम्भावना निकै कम रहेको विभागले जनाएको छ । शनिबार रातिदेखि भने देशभरको मौसम पूर्ण रूपमा सुधार हुने र वर्षा नहुने अनुमान गरिएको छ ।
यद्यपि कोशी र बागमती प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात हुन सक्ने सम्भावना छ । शनिबारका लागि देशभर कुनै चेतावनी जारी गरिएको छैन भने सबै प्रदेशलाई सुरक्षित जनाउने ‘हरियो रङ’ मा राखिएको छ ।
शुक्रबार मौसम प्रतिकूल हुने भए पनि त्यसपछि क्रमिक सुधार आउने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


















