दशैंमा उपत्यकाको सुरक्षा योजना : ८ हजार भन्दा बढी प्रहरी परिचालन, कुकुर र ड्रोनबाट समेत निगरानी

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा दशैंको सुरक्षाका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा ८ हजार १५ जना प्रहरी परिचालन गर्नेगरी उपत्यका प्रहरी कार्यालयले दशैं सुरक्षा योजना लागू गरेको हो ।

छठसम्म लागू हुनेगरी सुरक्षा योजना लागू गरिएको उपत्यका प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले जनाएका छन् ।

दशैंमा धेरै किनमेल हुने बजार, व्यापारिक केन्द्र, बसपार्क र उपत्यका प्रवेश गर्ने नाकाहरूमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । उपत्यका प्रवेश गर्ने मुख्य नाका थानकोट, साँगा, फर्पिङ, मुड्खु, टोखा, जर्सिङपौवा र भट्टेडाँडामा सादा पोसाकका सुरक्षाकर्मीसँगै तालिमप्राप्त कुकुर प्रयोग गरेर चेकजाँच थालिएको छ ।

नाकामा डग स्निफिङ गरेर चेकजाँच थालिएको छ भने मुख्य बजार क्षेत्रमा ड्रोनबाट निगरानी गरिएको छ । त्यसैगरी प्रहरीले लुटपाट र पाकेटमारी हुन सक्ने स्थानमा माइकिङ पनि गर्नेगरी सुरक्षा योजना लागू गरेको जनाएको छ ।

कसैले विस्फोटक पदार्थ र लागूऔषध ल्याएमा तालिमप्राप्त कुकुरले सुँघेर पत्ता लगाउँछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित उपत्यकाभर ३७ ठाउँमा नागरिक सहायता कक्ष राखिएको छ ।

काठमाडौं जिल्लामा मात्रै १५ ठाउँमा यात्रु सहायता कक्ष राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सार्वजनिक यातायात र निजी सवारीचालकले मादक पदार्थ र लागुपदार्थ सेवन गरेर चलाउन सक्ने आशंकामा उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ सै घण्टा मापसे र लापसे चेकिङ गरिरहेको छ ।

असोज २५ देखि नयाँ बसपार्क, कलंकी, भक्तपुरको जगाती र ललितपुरको टिकाभैरवमा लापसे र मापसे चेकिङ सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सुरक्षा योजना लागू भएपछि लापसे गरेर सवारी चलाउने १२ जना र मापसे गरेर सवारी चलाउने २४६ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १८ जना सार्वजनिक सवारीका चालकले मापसे गरेर चलाएको भेटिएको एसएसपी काफ्लेले बताए ।

स्विप अपरेसन सञ्चालन गरेर उपत्यकामा रातको समयमा शंकास्पद तरिकाले हिँडडुल गरेका ३४१ जनालाई नियन्त्रणमा लिएर प्रहरीले स्क्रिनिङ गरेको छ । दशैंको सुरक्षा योजना लागू भएसँगै प्रहरीले काठमाडौं उपत्यकाबाट ७ जनालाई फलामको रडसहित फेला पारेर अनुसन्धान गरिरहेको छ ।

बैंक तथा वित्तीय संस्था, सुनचाँदीको कारोबार हुने ठाउँ र आर्थिक कारोबार हुने स्थानमा सीसीटीभीमार्फत २४ सै घण्टा निगरानी भइरहेको पनि उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।