बाजुरामा ट्याक्टर दुर्घटना : मृतकको संख्या तीन पुग्यो

बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिका–३ मनिकाँडामा भएको ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
शुक्रबार साँझ करिब ६ः३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा धनरूप शाही र धर्म शाहीको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी ५२ वर्षीया रामसरा देवी सिंहको उपचारका क्रममा कोल्टी आधारभूत अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको हो।

दुर्घटनामा ट्याक्टर चालक नवीन बोहरासहित चार जना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।