तीन करोड ७३ लाखको लागतमा कृषि तथा पशु उद्यमशील परियोजना

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले हेफर इन्टरनेशनलसँगको सहकार्यमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सुरु गरेको छ ।

गाउँपालिकाका आठवटै वडाका कृषकको हितलाई ध्यानमा राखेर रु तीन करोड ७३ लाख ३३ हजारको लागतमा उक्त परियोजना सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताउनुभयो ।

“कृषकको चाहनामा आधारित उद्यम सञ्चालनका लागि हामीले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “कृषकलाई कृषि र पशुपालनका क्षेत्रमा सङ्गठित गर्दै उत्पादन बढाउनका लागि यो परियोजना धेरै उपयोगी हुने अपेक्षा गरेका छौँ ।”

कृषकले कृषि र पशुपालनका क्षेत्रमा आफूले चाहेको व्यवसाय गर्न पाउने गरी सञ्चालन हुन लागेको तीनवर्षे यो परियोजनाका लागि गाउँपालिकाका अध्यक्ष थापा र हेफरका सहनिर्देशक दुर्गा केसीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

यो परियोजनाको व्यवस्थापन भीमापोखरा युवा क्लब (विवाइसी)ले गर्ने भएको छ परियोजनाका लागि वडास्तरमा कृषि समूह गठन गरी उद्यमीको प्रवद्र्धन, उद्यमीले उत्पादन गरेका उत्पादनको बजारीकरण गरिने विवाइसीका कार्यक्रम संयोजक चुडामणि उपाध्यायले जानकारी दिनुभयो ।

परियोजनाका लागि गाउँपालिकाले पहिलो वर्ष रु ८० लाख, दोस्रो र तेस्रो वर्ष रु एक/एक करोड लगानी गर्ने र त्यसको २५ प्रतिशत रकम हेफरले लगानी गर्ने अध्यक्ष थापाले बताउनुभयो । परियोजनाका लागि प्रशासनिक र तालिमका कार्यक्रम सबै हेफरले गर्ने भएको छ ।

परियोजनामार्फत उद्यमशीलताको विकास गरी कृषकलाई सहकारीमा आबद्ध गराउँदै उनीहरुद्वारा उत्पादित सामान सङ्कलन र बजारीकरण गर्ने परियोजनाको लक्ष्य छ ।

हेफरले यसअघि विवाइसीसँगको साझेदारीमा गाउँपालिका– ४ तङ्ग्राममा पशुबस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना परियोजना सञ्चालन गरेको थियो ।