नारायणहिटी काण्डमा बतासलाई कारवाही गर्न प्रहरी र अख्तियारलाई मन्त्रालयको निर्देशन

पौष  २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशकसहित संलग्नहरुलाई सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न प्रहरीलाई पत्र पठाएको छ ।

बुधबार नारायणहिटी परिसरमा क्यान्टिन र क्याफ्टेरिया संचालनसम्बन्धी छानबिन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको हो।

पत्रमा संहिताले राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृतीबिना अतिक्रमण, भोगचलन गर्न नपाइने उल्लेख गर्दै कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सकिने उल्लेख छ।

मन्त्रालय स्रोतका अनुसार निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण संवर्द्धन गर्न नसकेको पत्रमा उल्लेख छ । साथै यस्लाई भ्रष्टाचारजन्य क्रियाकलाप ठहर गर्दै आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि लेखी पठाइएको छ ।