माघ २४ः पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थी संगठन र प्रहरीबीच झडप भएको छ। झडपमा परी पाँच विद्यार्थी घाइते भएको श्रोतको भनाई छ ।
अनेरास्ववियू रूपन्देहीले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्न माग गर्दै गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । कार्यक्रममा विद्यार्थीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए । विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीको निर्देशनमा उनीहरुमाथि लाठीचार्ज गरिएको बरालको आरोप छ । मुख्यमन्त्री कार्यालय अगाडि विद्यर्थीहरूले गरेको प्रदर्शनलाई प्रहरीले रोक्न खोज्दा झडप भएको बताइएको छ ।
झडपमा परी अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियू जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल र गुनबहादुर श्रेष्ठ घाइते भएको अनेरास्ववियूले जनाएको छ ।
नगर कमिटी अध्यक्ष रोशन घिमिरेको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको बरालको भनाइ छ।