१ करोड ९० लाख जना मतदाता नामावलीमा समावेश

माघ २५:  वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम समेत आज मङ्गलवारबाट स्थगित गरेको छ ।

निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली सङ्कलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली सङ्कलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए।

आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ । कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली सङ्कलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो ।

निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो । हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्याङ्क छ ।