बेनीमा यातायात व्यवस्थापन गर्न वैकल्पिक सडक

माघ २८ः सदरमुकाम बेनी बजारभित्र सवारीको चाप घटाउन, जाम हटाउन र दुर्घटना न्यूनीकरणका लागि वैकल्पिक सडक सञ्चालन भएको छ । बेनी नगरपालिका–७ र ८ मा पर्ने बेनीलाई नदी कटानबाट जोगाउन कालीगण्डकी र म्याग्दी नदीको किनारमा तटबन्ध निर्माण भएपछि बनेको खाली भागमा सडक बनाएर यातायातका साधन सञ्चालन गर्न थालिएको हो ।

नगर प्रमुख हरिकुमार श्रेष्ठले साँघुरो सडक भएको बजारभित्र सवारी व्यवस्थापन गर्न वैकल्पिक सडक, बहुउद्देश्यीय मैदानमा बसपार्क, एकतर्फी सवारी सञ्चालन गराइएको बताउनुभयो ।

“पोखरा र पर्वत हुँदै बेनी आएका म्याग्दीको पश्चिमी क्षेत्र जाने तथा बागलुङ र म्याग्दी भेगबाट बेनी हुदैँ मुस्ताङ र पर्वततर्फ जाने मालवाहक सवारी साधनलाई कालीगण्डकी र म्याग्दी नदीको किनारमा बनाइएको सडकबाट गन्तव्यतर्फ जाने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “बजारभित्र लोड, अनलोड गर्नेबाहेक ट्रक, ट्र्याक्टर वैकल्पिक सडकबाट पठाउँदा व्यवस्थापन गर्न सहज भएको छ।”

नदी किनारमा निर्माण भएको तटबन्धलाई असर नपुग्ने गरी ढुङ्गा र माटोले फिलिङ गरेर म्याग्दी प्रवेशद्धार कालीपुलबाट कालीगण्डकी र म्याग्दी नदीको दोभान हुँदै दरबाङ बसपार्क जोड्ने करिब एक किलोमिटर दूरीको वैकल्पिक सडक सञ्चालन भएको छ ।

बहुउद्देश्यीय मैदानमा नगरपालिकाले रु २० लाख बढी खर्चेर पूर्वाधार बनाएर बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरङ्जा, बेनी–बागलुङलगायत पश्चिमी क्षेत्रमा चल्ने बस, जीप र ट्याक्सी पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

सो बसपार्कमा १०० सवारी साधन पार्किङ गर्ने क्षमता छ । नयाँ बसपार्क सञ्चालन भएपछि सडकमै यात्रुवाहक सवारी पार्किङ गर्नुपर्ने समस्या हटेको बेनी–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

एकतर्फी पार्किङ र यातायात सञ्चालन पनि बेनी बजारको यातायात व्यवस्थापनका लागि भएको अर्को पहल हो । गत पुस १ गतेदेखि एकतर्फी यातायात सञ्चालन भएपछि बेनी बजारभित्र दुर्घटना घटेका र जामको समस्या हटेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बताउनुभयो । (राससको सहयोगमा)