७३ जिल्लाका ६ हजार वडामा कांग्रेस अधिवेशन सम्पन्न

कांग्रेसको १५ औं महाधिवेशनको आधार मानिएको वडा अधिवेशन केही स्थानमा बाहेक आइतबार सकिएको छ । शनिबार र आइतबार गरी दुई दिनमा ७३ जिल्लाका ६ हजार १ सय ३२ वडामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

आन्तरिक विवाद, सदस्यतासम्बन्धी समस्या र बाढीपहिरोका कारण केही वडामा अधिवेशन हुन बाँकी छ । बाढी प्रभावित रसुवाका बाहेक सबै वडामा मंगलबारसम्म सबै वडाका अधिवेशन सकिने निर्वाचन समितिले जनाएको छ । बाढी प्रभावित नुवाकोट र धादिङमा सोमबारदेखि वडा अधिवेशन गर्ने तयारी छ । रसुवामा केन्द्रीय महाधिवेशनमा सहभागिताका लागि यसअघिकै प्रतिनिधिलाई मान्यता दिने वा कुनै वैकल्पिक उपाय खोज्ने भन्नेमा निर्णय हुन बाँकी छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सप्तरीका २ र ४, मोरङको ६, रौतहटको १, सर्लाहीका २ र नवलपरासी–२ निर्वाचन क्षेत्रका वडामा आन्तरिक विवाद र सदस्यतासम्बन्धी समस्याले अधिवेशन हुन सकेको छैन । ‘७ असोजमा गाउँ–नगर अधिवेशन गर्ने तालिका रहेकाले त्यसअघि ती क्षेत्रका सबै वडाको अधिवेशन हुनेछ,’ उनले भने ।

देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन सकिँदा एकैसाथ ४३ हजार ३ सय ५३ महिला वडा कार्यसमितिमा समेटिनेछन् । कम्तीमा ६ हजार ७ सय ४३ महिला कार्यसमिति उपसभापति नै हुनेछन् । वडा कार्यसमितिमा दुई उपसभापतिमध्ये एक महिला अनिवार्य हुनुपर्ने व्यवस्था विधानमा छ ।

जेन–जी आन्दोलनपछि संशोधन गरिएको पार्टी विधानमा ३० वर्षमुनिका युवाको प्रवेश वडादेखि केन्द्रसम्मै सुनिश्चित गरिएको छ । सम्पूर्ण वडा कार्यसमितिमा मात्रै कम्तीमा १० हजार २ सय ७० युवा एकैचोटि वडाको नेतृत्वमा आउनेछन् ।

दलितको प्रतिनिधित्व पनि विधानमा सुनिश्चित गरिएको छ । वडा कार्यसमितिमा मात्रै न्यूनतम ६ हजार ७ सय ४३ दलितको प्रतिनिधित्व हुनेछ । कांग्रेस विधानअनुसार वडादेखि केन्द्रसम्मका सबै निकायमा महिलाको संख्या कुल सदस्य संख्याको एकतिहाइ हुनुपर्ने व्यवस्था छ ।

वडा अधिवेशनलाई कांग्रेसको केन्द्रीय महाधिवेशनको मुख्य ढोका मानिन्छ । वडा अधिवेशनले वडा कार्यसमितिका अतिरिक्त क्षेत्रीय प्रतिनिधि निर्वाचन गर्छ । तिनै क्षेत्रीय प्रतिनिधि मतदाता हुने प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन्छ । तिनै महाधिवेशन प्रतिनिधि नै केन्द्रीय अधिवेशनका मतदाता हुन्छन् ।

वडा अधिवेशनमा सहभागी नहुनेहरू केन्द्रीय महाधिवेशनमा मतदाता हुन नसक्ने विधानको व्यवस्थाका कारण वडा अधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेताहरूले १६–१९ असोजको केन्द्रीय महाधिवेशनमा भाग लिने सम्भावना न्यून बन्दै गएको छ । महामन्त्री गुरुराज घिमिरेका अनुसार सभापतिबाट मनोनयन गर्न पाउने ७५ जना महाधिवेशन प्रतिनिधिमध्येबाट केहीलाई समेट्न सकिने भए पनि वडा अधिवेशनमा सहभागी नभएपछि केन्द्रीय महाधिवेशनमा भाग लिने सम्भावना रहँदैन ।

यस पटक संशोधित विधानले केन्द्रीय सभापतिसहित सबै पदाधिकारी र सदस्यसमेत वडा तहको निर्वाचन प्रक्रियाबाटै महाधिवेशन प्रतिनिधि बनेर आउनुपर्ने व्यवस्था गरेको छ । यसअघि केन्द्रीय कार्यसमितिका सभापति, पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था थियो । नयाँ व्यवस्थाका कारण यस पटक सभापति गगन थापासहित दुई सयभन्दा बढी केन्द्रीय पदाधिकारी तथा सदस्य आआफ्नो वडाको निर्वाचन प्रक्रियामा सहभागी भएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट ४० भन्दा बढी केन्द्रीय सदस्य संस्थापन पक्षमा आएपछि अहिलेको केन्द्रीय कार्यसमितिको आकार दुई सयभन्दा माथि पुगेको छ ।