फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिने निर्णय

माघ २८ः सरकारले फागुन १ गतेदेखि १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड(१९)  विरुद्ध बुस्टर डोज खोप दिने भएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोभिडविरुद्धको पूर्ण मात्रा खोप लगाएका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिइने बताए।

पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘पूर्ण मात्रा खोप लगाएका १८ वर्ष माथिका सबै नागरिकलाई अब फागुन १ गतेबाट बुस्टर डोज दिइने छ। पूर्ण खोप लगाएर ६ महिना पूरा भएकाले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्नेछन्।’

मन्त्रालयले बिहिबार दुबै डोज खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने निर्णय भएको सूचना प्रकाशित गरेको थियो । बुस्टरको रुपमा कोभिशसल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको मन्त्रालयको भनाई छ ।

साथै मन्त्रालयले ७७ जिल्लाकै स्वास्थ्य कार्यालयलाई खोप उपलब्धताको आधारमा कोभिशसल्ड, अस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप (बुस्टर डोज) प्रदान गर्न भनेको छ।