एमसिसी टेबुल भएपनि संसद अवरोध जारी रहन्छ: नेकपा एमाले

फागुन ८ः नेकपा एमालेले आज बस्ने प्रतिनिधि सभाको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभामा एमालेले गर्दै आएको अवरोध आजपनि जारी रहने बताएका छन्। उनले एमसिसी टेबुल भएपनि नभएपनि एमालेले गर्दै आएको संसद अवरोध आजपनि जारी रहने बताएका छन्।

‘एमसिसी संसदमा टेबुल भएपनि नभएपनि एमालेले जारी राखेको अवरोध आजपनि जारी रहन्छ,’ उनले काठमाडौं प्रेससँग भने। सभामुखले एमालेलाई संसदमा विभेद गरेका कारण ध्यानाकर्षणका लागि अवरोधलाई जारी राख्नुपरेको उनले बताएका छन्।

सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुले आज सदनमा एमसिसी टेबुल गर्ने सहमति गरिसकेका छन्। एमसिसी टेबुल गर्नका लागि एमालेले गर्दै आएको संसद अवरोध स्थगित गर्नुपर्ने एकिकृत समाजवादीको धारणा छ। त्यसका लागि प्रधानमन्त्री देउवाले एमाले अध्यक्षसँग सकारात्मक छलफल गरिसकेको बताइएको छ।

तर, भट्टराईले भने प्रधानमन्त्री र अध्यक्ष ओलीबीच त्यस्ता कुनैपनि सहमति नभएको दाबी गरेका छन्। काठमाडौं प्रेससँगको कुराकानीमा उनले सदन सञ्चालन र एमाले अवरोध स्थगित गर्ने विषयमा कुनैपनि सहमति नभएको बताएका हुन्।

उनले गठबन्धन पनि छाड्न नखोज्ने र एमालेको सहयोग पनि खोज्नु प्रधानमन्त्रीको प्रस्ताव स्वीकार गर्न नसकिने बताए। ‘प्रधानमन्त्रीज्यूले दुईतिर माया लाउन खोज्नुभएको छ, माया दुइतिर लाउन हुन्न भन्ने गीत नै छ। उता छाडेर यता आउनु भयो भने सोच्न सकिन्छ, यथास्थितीमा कुनैपनि हालतमा एमालेले प्रधानमन्त्रीको साथ दिँदैन,उनले भने ।