भारतमा ओमिक्रोनको ‘एक्सई’ भेरियन्ट पुष्टि

चैत्र २७ : भारतमा एक जना कोरोना संक्रमितमा ओमिक्रोनको ‘एक्सई’ भेरियन्ट पुष्टि भएको छ । मुम्बई महानगरले दक्षिण अफ्रिकाबाट फर्किएकी एक महिलामा एक्सई भेरियन्ट फेला परेको बताए पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थिएन। तर पछिल्लोपटक अर्का एक पुरुषमा एक्सई पुष्टि भएको हो।

समाचार संस्था आइएएनएसले जनाएअनुसार संक्रमित व्यक्ति ६७ वर्षीय पुरुष हुन् र उनले मुम्बईदेखि गुजरातको बडोदरासम्मको यात्रा गरेका थिए। बडोदराको एक होटलमा १२ मार्चमा गरिएको परीक्षणमा उनमा कोभिड संक्रमण पाइएको थियो।

संक्रमित व्यक्तिमा हल्का ज्वरोका अलावा कुनै लक्षण देखिएको थिएन। उनको नमुनाको जिनोम सिक्वेन्सिङका लागि पठाइएको थियो। जसको रिपोर्ट शनिबार आएकोमा ओमिक्रोनको एक्सई भेरियन्ट पुष्टि भएको हो।

संक्रमित व्यक्तिले कोभिशिल्डको दुई डोज लगाएका थिए। उनको अवस्था स्थिर रहेको र उनीसँग सम्पर्कमा आएकाहरुबारे जानकारी लिने प्रयास भइरहेको अधिकारीहरुले बताएका छन्।