पल शाह प्रकरण : बालिकाले बयान फेरिन्, उजुरी दिनका लागि दबाब दिएको बयान

बैशाख ५ : पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ ।

जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ । बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिकाले मात्र नभएर उनका बाबुले समेत बयान फेरेका स्रोतको दाबी छ ।

१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए । हाल उनी तनहुँ कारागारमा छन् ।