जेठ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका छन्। देउवाले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालको उड्डयन क्षेत्र र आर्थिक क्षेत्रमा सकरात्मक प्रभाव पार्ने बताएका छन्।
हाल एउटा मात्रै विमान कम्पनीलाई प्रधानमन्त्री देउवाले विदेशी वायुसेवा कम्पनीलाई गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्न आह्वान गरेका छन्। उनले विमानस्थल निर्माणका लागि सहयोग गर्ने दातृ निकाय एडीबीलगायतलाई धन्यवाद दिएका छन्।
गौतमबुद्ध विमानस्थलमा पहिलोपटक जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान गरेको छ। जजिराले भैरहवा–कुवेत हप्ताको ३ उडान गर्ने भएको छ। जजिरा सोमबार बिहान ७ः१० मा भैरहवामा अवतरण गरेको हो। यसअघि आजै बिहान ६ः५५ मा नेपाल एयरलाइन्स को एयरबस ३२० जहाज अवतरण गरेको थियो।
भारतले भैरहवाका लागि सिधा हवाई मार्ग नदिँदा काठमाडौंकै लागि प्रयोग भइरहेको मार्गबाट जहाज विमानस्थल पुगेको छ। सिमरा नजिकैबाट जहाज भैरहवा पुग्दा धेरै घुम्नुपरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विमानस्थल सञ्चालनले नेपालको पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले त्रिभुवन विमानस्थलसँगै भैरहवा विमानस्थल २४सै घण्टा चल्ने वातावरण बनाएको बताए। २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको उद्घाटन गरेका थिए।
















