साउन २ : प्रधानमन्त्री शेरबहादुर देउवाले हरवाचरवा प्रथा अन्त्यको घोषणा गरेका छन् । आज कमैया मुक्त घोषणाको २२ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री देउवाले बालुवाटारमा मन्त्री, सांसद, संबैधानिक आयोगका प्रमुखहरु र नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुबिच अनुचित रिणको खारेजी सहित हरवाचरवा प्रथा अन्त्यको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री देउवाले हरवाचरवा प्रथालाई पूर्ण रुपमा हटाउनका लागि कानुनको पूर्ण कार्यान्वयन गराउन मातहतका निकायलाई निर्देशन पनि दिएका छन् । हरवाचरवा प्रथाको अन्त्य तथा ऋण मोचन गरिसकेको उल्लेख गर्दै अवशेष बाँकी भए कानुनको पूर्ण कार्यान्वयन गराउन निर्देशन दिएका हुन् ।
हरवाचरवा प्रथा अन्त्य भए नभएकोबारे प्रभावकारी अनुगमन गर्न पनि प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् । मुत्त हरुवाचरुवा परिवारहरुको सामाजिक, आर्थिक उन्नती, र सम्मानजनक जीवन सुनिच्चित गर्नका लागि विशेष लक्षित कार्यक्रम ल्याउन पनि उनले मातहतका निकायलाई निर्देशन दिए ।

सबैको सहकार्यबाट सो प्रथा अन्त्य गर्नु पर्नेमा प्रधानमन्त्री देउवाको जोड छ । सो अवसरमा उनले सम्पूर्ण मुक्तकमैयालाई सुखी र सम्मान पूर्ण जीवनयापनको शुभकामना पनि व्यक्त गरेका छन् ।


















