आलटालमै सकियो निर्मला हत्याको चार वर्ष टुंगिएन अनुसन्धान

साउन १०ः वर्षहरु बिते तर आसुहरु बग्न छोडेनन् , बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या भएको चार वर्ष पूरा भएको छ।

चार वर्षको अवधिमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान अधिकृत परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको छैन । चार वर्ष बितिसक्दा समेत प्रहरी यथेष्ट प्रमाणकै खोजीमै छ ।

यो घटनामा सबैभन्दा बढी छानबिन समिति बनाएर प्रहरीले अनुसन्धान गरे पनि चार वर्षसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन । अब निर्मलाले न्याय पाउँछे भनेर र कत्ति पनि आशा बाँकी नभएको आमा दुर्गा देवी पन्त बताउँछिन् ।

उनले भनिन् ‘अहिले न कसैले सोधपुछ गर्छन्, न मैले नै सोधखोज गरेकी छु । एउटै प्रश्नको जवाफ पनि कति जनालाई दिइसक्नु। यति सरकार फेरिए, अनुसन्धान गर्ने पनि कति फेरिए फेरिए, न्याय पाइने भए त पाइसक्थे। अब नपाइने नै हो भनेर मन शान्त बनाउने र यी दुई छोरीहरूको जीवन उज्यालो बनाउनेतिर सोच्नुपर्छ भन्ने लाग्न थालिसक्यो ।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताए । उनले भने, ‘हामीले परिवर्तित शैलीमा अनुसन्धान गरिरहेका छौं, लागुऔषध प्रयोगकर्तालाई पनि यो केसमा अनुसन्धान थालेका हौं।’ त्यस क्षेत्रका १८ र १९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको उनले जानकारी दिए ।

लागुऔषध प्रयोगकर्ता र मजदुरी गर्नेलाई पनि निगरानीमा राखेर अनुसन्धान गरिरहेका छौं, हामी निरन्तर अनुसन्धानमै छौं,’ उनले भने । निर्मला पन्तको बलात्कारपछि हत्याको घटना पत्ता लगाउन अहिले पनि डिएनए परीक्षण भइरहेको छ ।

प्रहरी उपरीक्षक चौधरीका अनुसार भर्खरै मात्र शंकास्पद तीन जनाको डिएनए परीक्षणका लागि रगत पठाइएको छ । प्रहरीले अहिले पहिला भन्दा छुट्टै तरिकाले पनि अनुसन्धान गरिरहेको उनको दाबी छ ।

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घर गएकी निर्मलाको दोस्रो दिन बिहान नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो ।