पछिल्लो एक अध्ययनअनुसार महिलाभन्दा पुरुषमा क्यान्सरको जोखिम बढी देखिएको छ। करिब १६ वर्षसम्म गरिएको अध्ययनले पुरुषमा ट्युमर हुने जोखिम बढी रहेको देखाएको हो।
धुम्रपान, मद्यपानलगायतका कारण पुरुषमा क्यान्सरको जोखिम बढी देखिएको हो । अमेरिकन क्यान्सर सोसाइटीले गरेको अध्ययनमा त्यस्तो पाइएको हो।
पुरुषमा १.३ देखि १०.८ गुणा बढी क्यान्सर हुने जोखिम देखिएको हो। सबभन्दा बढी इसोफाजिल क्यान्सर (मुखदेखि आन्द्रासम्म जोडिने नली) को जोखिम (१०.८ गुणा) रहेको छ । यसैगरी पुरुषमा थाइरोइड र पित्त थैलीको क्यान्सर भने महिलामा भन्दा कम देखिएको छ।
सो अध्ययनमा २ लाख ९४ हजार १ सय जनालाई सामेल गरिएको थियो। अध्ययन नतिजाले क्यान्सर लाग्न नदिन सचेत गराउने विश्वास विज्ञहरूले व्यक्त गरेका छन्।
महिलाभन्दा पुरुषमा क्यान्सर बढी हुनुका कारण जीवनशैली पनि एक कारक रहेको बताइएको छ। पुरुषहरूमा मधुमेहको बढी जोखिम तथा उनीहरू चुरोट, बिडी एवम् मद्यपान गर्ने भएकाले क्यान्सरको जोखिम बढी देखिएको हो।
सूर्तीजन्य पदार्थ तथा मद्यपान रोक्दा पनि क्यान्सरको जोमि कम गर्न सकिने विज्ञहरूको राय छ।


















