तनहुँमा फैलियो डेंगु, संक्रमितको संख्या ८८ पुग्यो

तनहुँमा डेंगीबाट सङ्क्रमित हुनेको सङ्ख्या ८८ पुगेको छ। सदरमुकामस्थित दमौली अस्पताल, बन्दीपुर अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा गरिएको परीक्षणअनुसार ८८ जनामा डेङ्गु पुष्टि भएको हो।

दमौली अस्पतालमा तीन, बन्दीपुर अस्पतालमा सात र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनामा डेङ्गु पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

डेङ्गु पुष्टि भएकामध्ये दमौली अस्पतालमा भर्ना भएर उपचार गराउने तीन जनामध्ये एक जना उपचारपश्चात घर फर्किएका छन् भने दुई जनाको उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख डा. राजु रानाले जानकारी दिए। बन्दीपुर अस्पतालमा भर्ना भएर सात जनाको उपचार गरिएकामा चार जना उपचारपश्चात घर फर्किएका छन्।

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ जनालाई डेङ्गु पुष्टि भएकामा २७ जना भर्ना भएर उपचार गराएका थिए।उपचाररत २७ जना नै उपचारपश्चात् घर फर्किसकेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए।

डेंगी परीक्षणका लागि स्वास्थ्य कार्यालयमा किट अभाव रहेको छ। स्थानीय तह र अस्पतालले नै किट खरिद गरेर परीक्षण गर्ने गरेकाले सहज भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए। ‘स्वास्थ्य कार्यालयमा किट छैन, पालिकाले नै व्यवस्थापन गरिदिएकाले परीक्षणमा सहज भएको छ’, अधिकारीले भने।

लामखुट्टेको टोकाइबाट डेंगी हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको चिकित्सक बताउँछन्। डेंगी भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ। आजकल डेङ्गु ज्वरो नेपालको विभिन्न भागमा देखापरिरहेको छ।