काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ। स्वास्थ्य अवस्थामा समस्या देखिएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उनलाई भर्ना गरिएको हो।
बुधबार राजधानीमा आयोजित एक चुनावी कार्यक्रममा सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सीता दाहाल बिरामी भएपछि अध्यक्ष प्रचण्ड उपस्थित नभएको बताएका थिए। श्रेष्ठका अनुसार सीतालाई आपतकालिन अवस्थामा मेडिसिटी अस्पतालको आइसीयूमा भर्ना गरिएको छ।
‘हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार कमरेड सीता दाहाल अहिले यहाँ आउनुभन्दा केही अगाडि हस्पिटल लैजानुपर्ने आपतकालीन अवस्थाका भयो। उहाँ अहिले मेडिसिटी हस्पिटलको आइसीयूमा हुनुहुन्छ।’ श्रेष्ठले जानकारी गराउँदै भनेका थिए।
तर, सीतालाई केही महिनादेखि अस्पताल लाने/ल्याउने क्रम चलिरहेको खुमलटार निकट स्रोतले जानकारी दियो। ‘चिकित्सकको सल्लाह अनुसार अस्पताल लाने ल्याउने त भइरहेको थियो,’ प्रचण्ड निकट स्रोतले भन्यो, ‘हिजोको कार्यक्रममा अध्यक्ष उपस्थित नहुनु भएपछि धेरैको चासो बढ्यो।’
सीताको अहिले पनि अस्पतालको आइसीयूमा नै राखेर उपचार भइरहेको बताइएको छ। सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छन्। मधुमेह र उच्च रक्तचापबाट समेत पीडित भएकी सीता छोरा प्रकाश दाहालको निधनपछि झनै कमजोर भएकी हुन्।
त्यस्तो त आज सिन्धुलीमा हुने कार्यक्रममा पनि प्रचण्ड नजाने भएका छन्। प्रचण्ड सिन्धुली नजानुलाई सीताको स्वास्थ्य अवस्थालाई जोडेर हेरिएको छ।


















