काठमाडौं। साविक उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ । शनिबार कतारमा तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा अफ्रिकी टिम मोरक्कोलाई २–१ गोलअन्तरले हराएको हो ।
खेलको सातौं मिनेटमै अग्रता बनाएको क्रोएसियाको जीतमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरेका हुन् । जोस्कोले हेडरमार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अघि बढाएका हुन् । तर त्यो अग्रता २ मिनेट पनि टिकेन । विपक्षी टिमका तर्फबाट अक्रफ दारीले गोल गर्दै बराबरी खेले । उनले फ्रिकिकबाट आएको बल क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत विपक्षी पोस्टको जाली चुमाएका हुन् ।
४२ औं मिनेटमा क्रोएसियाको लागि मिस्लाभ ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोल गरेका थिए । पहिलो हाफमा कायम २–१ को अग्रता निर्धारित ९० मिनेटसम्मै बचाउँदै क्रोएसियाले तेस्रो स्थानको सफलता हासिल गरेको हो ।
त्यसो त, दोस्रो हाफमा मोरक्कोले निकै आक्रामक खेल खेलेको थियो ।
यद्यपि उसका प्रयास गोलमा परिणत हुन सकेनन् । विश्वकपको इतिहासमा अफ्रिकी टिम पहिलो पल्ट सेमिफाइनल प्रवेश गरेको इतिहास मोरक्कोले दर्ज भने गरिसकेको छ ।
तर, उसको स्वप्नील यात्रा डिफेन्डिङ च्याम्पियन फ्रान्सले दोस्रो सेमिफाइनलमा २–० ले रोकेको थियो । यस्तै, पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाको चुनौती ३–० ले पन्छाएर फाइनल पुगेको छ ।
अर्जेन्टिना र फ्रान्सबीच फाइनल कतारको लुसेल रंगशालामा आइतबार पौने ९ बजे हुनेछ ।


















