काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको बार्सिलोना र स्पान्योलविरुद्धको खेलमा रेफ्रीले १३ पहेँलो र दुई रातो कार्ड देखाएका छन् ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलको मुख्य रेफ्रीको भूमिकामा रहेका एन्टोनियो माटेओले खेलका दौरान बार्सिलोना र स्पान्योलका एक-एक खेलाडीलाई रातो कार्ड देखाए । यस्तै, उनले बार्सिलोनाका खेलाडी र प्रशिक्षकसहित सातजनालाई र स्पान्योलका ६ जनालाई पहेँलो कार्ड देखाए ।
माटेओले बार्सिलोनाका जोर्डी अल्बा र स्पान्योलका भिनिसियस डी सुजा कोस्टालाई दोहोरो पहेँलो कार्डपछि रातो कार्ड देखाएका थिए ।
माटेओ तिनै रेफ्री हुन्, जसले हालैमात्र कतारमा सम्पन्न फिफा विश्वकपअन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेलमा १६ पहेँलो र एक रातो कार्ड देखाएका थिए ।
खेलमा बार्सिलोना स्पान्योलसंग १-१ को बराबरीमा रोकियो । यो बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानका लागि रियाल मड्रिडसंगको तीन अंकको अग्रता कायम गर्ने मौका गुमायो ।
१५ खेलबाट ३८ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा रहे पनि रियालको पनि समान अंक छ । यता १५ खेलबाट १३ अंक जोडेर १६ औँ स्थानमा रहेको स्पान्योल रेलिगेसन क्षेत्रभन्दा एक अंक मात्र माथि छ ।



















