इजरायल-लेबनान तनाव, इजरायली आक्रमणमा १४ जना मारिए

लेबनानमा आइतबार भएको इजरायली आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दुई बालबालिका र दुई महिला समेत छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले ३७ जना घाइते भएको जनाएको छ।

आक्रमणअघि इजरायली सेनाले दक्षिण लेबनानका केही गाउँका बासिन्दालाई तत्काल उक्त क्षेत्र छोड्न चेतावनी दिएको थियो। त्यहाँ बसिरहनु जीवनका लागि जोखिमपूर्ण हुने बताइएको थियो।

लगत्तै इजरायली सेनाले हिज्बुल्लाहका लडाकु र संरचनामाथि हवाई आक्रमण गरेको दाबी गरेको छ। ती स्थानबाट आफ्ना सैनिकमाथि आक्रमणको तयारी भइरहेको आरोप पनि लगाइएको छ।

उता हिज्बुल्लाहको ड्रोन आक्रमणमा १९ वर्षीय एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। इजरायलले हिज्बुल्लाहका ३ वटा ड्रोन आफ्नो हवाई सेनाले सीमाना नपुग्दै खसालेको पनि जनाएको छ।

दुवै पक्षबीच अप्रिल १६ देखि लागू भएको युद्धविराम अझै कायम छ। तर, यो निकै संवेदनशील अवस्थामा छ। गत साता मात्र ३ हप्ताका लागि युद्धविराम अवधि थप गरिएको थियो।

सम्झौता अनुसार इजरायलले आत्मरक्षाका लागि आवश्यक कारबाही गर्ने अधिकार राख्छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा सेना सक्रिय र कडा रूपमा प्रस्तुत भइरहेको बताएका छन्। उनले हेज्बोल्लाहका गतिविधिले युद्धविराम कमजोर बनाइरहेको आरोप लगाए।

यसअघि पनि दुवै पक्षले एकअर्कामाथि आक्रमणको आरोप लगाउँदै आएका छन्। शनिबार मात्रै इजरायलले हिज्बुल्लाहलाई कडा कारबाही गर्न सेनालाई निर्देशन दिएको थियो। त्यस दिन पनि दक्षिण लेबनानमा कम्तीमा ६ जनाको मृत्यु भएको थियो।यसैबीच, क्षेत्रीय कूटनीति पनि सक्रिय देखिएको छ। इरानका विदेशमन्त्री अब्बास अराघची पाकिस्तान पुगेका छन्।

उनले अमेरिकासँग सम्भावित वार्ताका विषयमा छलफल गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता जारी राख्न युद्धविराम अवधि थपेका छन्।अराघचीले अमेरिकासँग प्रत्यक्ष वार्ताको कुनै निश्चित कार्यक्रम नभएको बताएका छन्। उनी सोमबार रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न मस्को जाने तयारीमा छन्।