नेपाली निजामती सेवाको इतिहासमा दलित समुदायबाट पहिलो सचिव बन्न सफल पूर्वसचिव डा. मानबहादुर बीकेको बहुप्रतीक्षित पुस्तक ‘राज्य, समावेशिता र विषम यात्रा’ सार्वजनिक भएको छ।
शनिबार टेकुमा आयोजित राष्ट्रिय दलित कर्मचारी समाज नेपालको साधारण सभाको अवसरमा आयोजित विशेष कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो। कार्यक्रममा सांसद प्रकाशचन्द्र परियार लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।
दलित समुदायबाट उच्च प्रशासनिक नेतृत्वसम्म पुग्ने यात्राले नेपाली समाजमा समावेशिताको नयाँ उदाहरण स्थापित गरेको भन्दै कार्यक्रममा सहभागीहरूले पुस्तकलाई आगामी पुस्ताका लागि प्रेरणादायी दस्तावेजको रूपमा चित्रण गरेका थिए।
लेखक डा. बीकेले पुस्तकले राज्यका संरचना, समावेशिताको अभ्यास, समानताको सवाल र सामाजिक न्यायको यात्रालाई गहिरो रूपमा उजागर गरेको बताए। उनले आफ्नो लामो निजामती सेवा अवधिमा भोगेका चुनौती, संघर्ष, उपलब्धि र अनुभवहरूलाई पुस्तकमार्फत प्रस्तुत गरेका छन्।
पुस्तकले केवल एक व्यक्तिको संघर्षगाथा मात्र नभई राज्यका नीति, अवसरको पहुँच, सामाजिक विभेद र समावेशी शासन व्यवस्थाको वास्तविक अवस्थालाई पनि उजागर गर्ने अपेक्षा गरिएको छ। सामाजिक रूपान्तरण, समान अवसर र न्यायपूर्ण राज्य निर्माणका विषयमा रुचि राख्ने पाठकका लागि यो पुस्तक महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरिएको छ।


















