विश्व संगीत दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया तथा लाइभ दोहोरी कार्यक्रम हुने

केपि कुमार जलन / बागलुङ

विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति बागलुङको आयोजनामा “नेपाली लोक संगीत : हिजो, आज र भोलि” विषयक अन्तरक्रिया कार्यक्रम तथा लाइभ दोहोरी–२०८३ आयोजना हुने भएको छ।

प्रतिष्ठानले नेपाली लोक संगीतको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तालाई लोक संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा लोक संगीतको विगत, वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे छलफल गरिनुका साथै विभिन्न कलाकारहरूको सहभागितामा लाइभ दोहोरी प्रस्तुति रहनेछ।

“हाम्रो अभियान : अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मूल नारासहित आयोजना हुने कार्यक्रम असार ७ गते दिउँसो ३ बजेदेखि झण्डा पार्क, सिमेन्ट चोक, बागलुङमा सञ्चालन हुनेछ।
कार्यक्रममा लोक तथा दोहोरी गीतका स्रष्टा, कलाकार, संगीतकर्मी, पत्रकार तथा लोक संस्कृतिप्रेमी दर्शकहरूको उल्लेख्य सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ।

आयोजकले सम्पूर्ण संगीतप्रेमी महानुभावलाई कार्यक्रममा उपस्थित भई नेपाली लोक संगीतको संरक्षण र प्रवर्द्धनमा साथ दिन आग्रह गरेको छ।