असार ३१ : अत्यधिक गर्मीका कारण पर्साको वीरगन्ज महानगरपालिका मातहात रहेका विद्यालयहरु साउन २० गतेसम्म बन्द हुने भएका छन् । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले विज्ञप्ति जारी गरी अत्यधिक गर्मीका कारण बालबालिकामा पर्न जाने प्रतिकूलतालाई मध्यनजर गर्दै विद्यालय बिदा हुने जनाएको छ ।
यसअघि बढ्दो गर्मीका कारण महानगरपालिकाले असार २८ देखि ३१ सम्मका लागि सबै विद्यालयहरुको पठनपाठन बन्द गरेको थियो । मौसम प्रतिकूलता अझ बढ्दै गएकोले शैक्षिक क्यालेन्डरमा साउन ८ गतेबाट वर्षे बिदा उल्लेख भए तापनि त्यसलाई संशोधन गरी साउन १ देखि २० गतेसम्म वर्षे बिदा गरिएको बताइएको छ ।
यसैगरी, पर्साको पोखरिया नागरपालिका, धोबिनी र पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि २८ गतेसम्मका लागि विद्यालय बन्द रहने जनाएका छन् ।



















