मकवानपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षका मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का २९ वर्षका रुपेश तामाङ छन् ।

“सवारी साधनको ठक्करबाट तीनजना बाटोमा घाइते अवस्थामा रहको भन्ने खबरका आधारमा हामी घटनास्थल पुग्यौं,” जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले भने, “केले ठक्कर दियो भन्ने अहिलेसम्म पत्ता लागेको छैन । हामी अनुसन्धानमा छौँ ।”

घटना बिहीबार राति करिब १० बजेतिर भएको अनुमान गरिएको उनले जानकारी दिए । ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिएको कार्कीले बताए ।