धरानमा ग्यास सिलिन्डर विस्फोटका घाइतेको कस्तो छ अवस्था ?

काठमाडौं । धरान उपमहानगरपालिकाको वडा नम्बर १७ मा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकाको अवस्था सामान्य रहेको बताइएको छ । विस्फोटमा आठजना घाइते भएकामा एकजनाको अवस्था भने केही गम्भीर रहेको छ ।

घाइतेमध्ये सोनिका राईको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । “सोनिका राईको अवस्था केही गम्भीर छ । तर, आत्तिनु पर्ने अवस्था नरहेको चिकित्सकले बताउनु भएको छ,” प्रजिअ पाण्डेले भनिन्, “थप उपचारका लागि काठमाडौं लैजाने अथवा नलाने भन्नेबारे अहिले बिहान चिकित्सकसँग सल्लाह गरेपछि निर्णयमा पुग्ने छौँ ।”

घाइते बालबालिकाका आफन्तले पनि सँगै काठमाडौं जान चाहेपछि के गर्ने भन्नेबारे सल्लाह भइरहेको पनि उनले जानकारी दिइन् ।

सोमबार साँझ भएको विस्फोटमा आठजना घाइते भएका थिए । घाइतेहरूको धरान अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा २२ वर्षीया सोनिका राईसँगै ४२ वर्षीया अन्जना राई, ६६ वर्षीया राजकुमारी राई, आठ वर्षीय सांकेन राई, १० वर्षीया सुनिहाङ राई, २७ वर्षीया सविता राई, १९ वर्षीय अनिश कार्की र १८ वर्षीय वासुदेव खड्का छन् ।

ग्यास लिक भएर ग्यास सिलिन्डर विस्फोट भएको अनुमान गरिएको छ ।