काठमाडौं, ११ जेठ । नेपाली वाम धारका राजनीतिककर्र्मीहरु नेपाली जनताको प्रधान दुश्मन शक्ति कुन हो, सहायक दुश्मन शक्तिहरु कुन हुन् मित्र शक्ति कुन हो, परिवर्तनकारी शक्ति कुन हो भन्ने छुट्याएर आफ्ना राजनीतिक काम अघि बढाउँछन् । नेपाली वाम राजनीतिमा कम्युनिष्ट पार्र्टी गठन भए ताका (बिसं २००६) प्रधान अन्तरबिरोध वारे त्यति विवाद देखिदैन । त्यतिखेर नेपाली कम्युनिष्टहरुले नेपालको अवस्था अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक अवस्थामा रहेको बताएका थिए । यसको अर्थ हो नेपाल देश आधा सामन्ती र आधा पूंजीवादी तरीकाबाट शोषित थियो र देश साम्राज्यवादीहरुबाट पनि निकै मात्रामा नियन्त्रित थियो । अहिले ७० बर्षपछि आएर देशमा सामन्ती प्रणालि घटेको, पूंजीवादी प्रणालि युरोप तिर देखा परेको भन्दा केही फरक तरीकाले (दलाल मार्फत) बढेको र साम्राज्यवादी चंगुलहरु पनि बढेको महसुस भएकोले जनताका शत्रु शक्तिमा पनि केही हेरफेर आएको अनुमान भैरहेको छ र त्यसै अनुसार प्रधान अन्तरबिरोधको स्थिति पनि फेरिएको छ भन्ने बिषयमा बहसहरु भैरहेको छ ।
अहिलेको विवादको मुख्य बिषय साम्राज्यवादी शोषण घरेलु सत्ताधारी मार्फत भैरहेको छ कि सीधै हस्तक्षेपबाट भैरहेको छ भन्ने हो । अर्थात, घरेलु सत्ताधारी मार्फत भैरहेको हो भने नेपाली जनताको घरेलु सत्ताधारीसंगको अन्तरबिरोधलाई प्रमुख मान्न पर्छ र जनताले प्रहारको निशाना घरेलु प्रतिक्रियावादीलाई बनाउनु पर्ने हुन्छ । यदि सीधै आएको हो भने साम्राज्यवादी शक्तिसंगको अन्तरबिरोधलाई प्रधान मान्नुपर्ने हुन्छ र प्रहार पनि त्यसैका बिरुद्ध केन्द्रित गर्नुपर्ने हुन्छ । एकैसाथ दुबैलाई प्रहार गर्ने नीति गलत र असफल हुने हुनाले ‘सीधा हस्तक्षेप’ कि ‘मार्फत हस्तक्षेप’ भन्ने छुट्याउने प्रयास गर्न आवश्यक भएको हो ।
अहिले केहीले भ्रष्टाचार बिरोधी आन्दोलन पनि साम्राज्यवादद्वारा परिचालित छ र यसमा लागि पर्न बेकार छ भन्ने आशयका कुराहरु गरिरहेका छन् । उनीहरु आन्दोलनको नाममा यी भ्रष्टाचार बिरोधीहरु रुमलिएका छन,गन्तव्य र रणनीति बिहीन तरीकाले आन्दोलनमा जाँदा यस्को पकड अन्तै जान्छ, हामी केबल रमिते हुन पुग्छौं सम्म भनीरहेका छन् । त्यस्तै केहीले नेपालमा “Color Revolution ” को पृष्ठभुमि तयार भयो, अब प्रहारको निशाना साम्राज्यवाद बिरुध्द हुनुपर्छ पनि भनीरहेका छन् ।
अर्काेतर्फ, सरकार चलाउने को हो भन्ने विवाद पनि बढेको छ।सत्ताधारी नेताहरुनै सरकार चलाउने अर्कै छ भनिरहेका छन् कृष्ण बहादुर महरा, देव गुरुंग, र सुदन किरांतीहरु सरकार (संसद समेत) चलाउने मंत्री हैनन् अर्कै छन्न् सरकारले भनेको कानून पास गर्न सकिरहेको छैन, इत्यादि भनिरहेका छन्न् माओवादी -एमालेको संयुक्त सरकार भएका बेला योगेश भट्टराईले पनि आफ्नै कर्मचारी तत्रले समेत सहयोग नगरेको कुरा गरेका थिए । किरांतीले ती अर्कै भनिएकाहरु विभिन्न स्वार्थ समूहहरु हुन् र त्यसवारे थप पछि बताउने भनेर जीब्रो चपाएका छन् यी धेरैजसो नेताहरुको संकेत बिदेशी शक्ति तर्फ देखिन्छ किनकि देश भित्रका सबै शक्तिसंग मिलेमतो छंदैछ ।
नेपाललाई बिदेशीले डस्ने र प्रचारित बिदेशी सेना हवाईजहाजमा चढेर नेपाल पस्ने काम भएको वारे ठूला नेता वा ठूला कर्मचारीले जनतालाई भन्ने गरेको पाइदैन । किन नभनिएको होला ? साम्राज्यवादीहरुसंगको मिलेमतोले हो वा भनेमा उनिहरुलाई ठूलो जोखिम हुने भएर हो ? कर्मचारीलाई जस्तो नेताहरुलाई राज्यको गोपनीयताको नीतिको निहुं पनि हुदैन, तैपनि किन भनिरहेका छैनन् वा आधा भनिरहेका छन् ? यसले बिदेशी दबाव चर्काे देखिन्छ तर बाहक भने नेपाली सत्ताधारीहरुनै देखिन्छन्
केही उदाहरणहरु हेरा ैं। एम सी सी संझौता तयारी र हस्ताक्षरित रुपमा अमेरिकाबाट नेपाल आएको हो कि नेपालकै मंत्रालयहरुमा पकाएर पस्किएको चीज हो ? विवादित नागरिकता बिधेयक इन्डियाले खेस्रा गरेर नेपालको संसदमा निर्णयार्थ पठाएको हो कि नेपालमै लेखिएर नेताहरुको मिलेमतोमा संसदमा पेश भएको हो ? सीमाना अतिक्रमण एकतर्र्फी रुपले गरिएको हो कि मिलेमतोले ? जमीनको हदबन्दी लागू नगरेको यहीका दलालले कि बिदेशी दबावले ? ब्याज र भाडा,कर,मल्य,महंगी आदि नेपाल सरकारले तय गरेको हो कि बिदेशी सरकारले लादेको ? भंसार दरमा कसको हात ?
यस्ता यावत कुराहरुले के देखाउँछन् भने सीमाना अतिक्रमण बाहेक सबैजसो कुरामा नेपाली सत्ताधारीकै हात हुन्छ, उनिहरुले नै कागजी प्रक्रिया अघि बढाउंछन् नेपाली सत्ताधारी मार्फत नै लागू भैरहेका हुन्छन्, बिदेशीहरुको हात अप्रत्यक्ष हुन्छ ।
मिलेमतो गर्ने नेता वा कर्मचारीले काम खुरुखुरु अघि बढाउंछन्, मिलेमतो नगर्नेहरु पन्छिन्छन् वा सरुवा लिएर अन्यत्रै जान्छन्न् असन्तुष्ठहरुले कुरा चुहाउंछन्न् र बिद्रोहीहरु पड्किन्छन् । यो स्थितिमा प्रमुख प्रहार साम्राज्यवादीका नेपाली दलाललाई कि पर्खाल पछाडिको साम्राज्यवादका इकाईहरुलाई ?
अहिलेको विश्वमा शक्तिराष्ट्रहरुले बलमिच्याई गरेर पराया देशलाई कब्जा गर्ने र त्यहांको धनसम्पत्ति हात लगाउने नगरेका हैनन् तर त्यसो भन्दैमा आफ्नो धोती नस्यारेर अर्कालाई मात्र दोष दिनु राम्रो होइन । बिदेशीको हाउगुजी देखाएर आफ्ना देश भित्रको अलल्पतन्त्र र लूटतन्त्रमा आंखा चिम्लनु ठीक होइन । नेपाल सुन्दर हुनु, नदी, खानी, जडीबुटी आदि हुनु, चीनको आडैमा हुनु आदिले छिमेकी र विश्वका शक्तिराष्ट्रहरुको आंखामा परेको कुरा त सत्य हो तर त्यसको लागि देशभित्र एकता बढाएर त्यसको मुकाबीला गर्ने कि देशभित्रकालाई चिढ्याएर मुग्लान पठाएर बांकी २-४ जनाले मात्र जुध्ने ?
पहिले आफ्ना देश भित्रका अल्पतन्त्र, लूटतन्त्र, बिभेदीकरण, सीमान्तीकरण, वन्चितीकरण, आदि सच्याऔं, सबैलाई समतामूलक र मर्यादापूर्ण ढंगले जीउने वातावरण बनाऔं, त्यसले देशभित्रको एकता सुद्रीढ हुन्छ यो एकता समेतको बलमा विस्तारवादी तथा साम्राज्यवादी देशका जनतासंग मित्रवत सम्बन्ध बढाउँदै तत् तत् देशका प्रतिक्रियावादी सत्ताधारीहरुको हस्तक्षेप विरुद्ध अन्तराष्ट्रियस्तरमा आवाज उठाउंदै पनि गरौं , अनि देशभित्रको एकता बलियो भएपछि उनिहरु बिरुद्ध निर्णायक जेहाद छेड्न सफल हुनेछौं । इन्डियाले नेपाल-भारत सीमाको दशगजा सारेकोमा सबै ठाउंमा सीमावर्ती नेपालीहरुबाट प्रतिरोध नहुनुबाट पनि पाठ सिक्नु पर्छ । जबसम्म देश भित्र यो प्रतिरोधी चेत विकास हुने व्यवस्था गरिंदैन, तबसम्म “साम्राज्यवाद वा विस्तारवाद विरुद्धको संघर्ष प्रधान हो” भनेर पनि सार्थक परिणाम आउदैन ।
नेपालको सन्दर्भमा विश्व साम्राज्यवादीहरुको नेत्रित्व गरेर दलाल मार्फत आइरहेको अमेरिकी सत्ताधारी र नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हस्तक्षेप गरिरहेको इन्डियन सत्ताधारीको भूमिका र त्यसका बिरुद्ध प्रहारको तरीकामा फरक हुनजान्छ । इन्डियन प्रतिक्रियावादीहरु कतिपय अवस्थामा (जस्तै भूमि कब्जा र सीमा अतिक्रमण) सीधै आएका छन् भने अमेरिकी साम्राज्यवादीहरु नेपाल भित्रका उनिहरुका दलाल मार्फत आएको छन् । कतिपय अवस्थामा अमेरिकी सत्ताधारीहरु छिमेकी इन्डियन सत्ताधारीको मिलेमतोमा आएको छ भने कतिपय अवस्थामा इन्डियन सत्ताधारीसंगको मिलेमतो वेगरनै पनि आएको छ ।(जस्तै भर्खरैको अमेरिकन सरकारी भनाई छ कि इन्डीयन नेताहरुले हिन्दु धर्मको पुनस्थापनाको लागि नेपालमा पैसा बाँडिरहेका छन्) । यसले सीमा जोडिएको र टाढाको साम्राज्यवादी हस्तक्षेप र त्यस बिरुद्धको संघर्षमा अन्तर हुने पनि देखाउँछ किनकि छिमेकीबाट भूगोल हस्तक्षेपको जति संभावना हुन्छ त्यति टाढा वा पारबहनको असुबिधा भएकोबाट हुदैन । जो जुन हदसम्म प्रत्यक्ष रुपले आउँछ त्यस बिरुद्ध पनि त्यही हदको प्रत्यक्ष मुकावीला गर्नुपर्ने हुन्छ । अरु अवस्थामा उनिहरुलाई भित्राउने नेपाली दलाल बिरुद्धको प्रहार नै सही हुन्छ ।
टाढाको साम्राज्यवादी शक्तिको नेपाल माथिको कब्जाको आशंकाले जति त्रसित देखिन्छ त्यो स्तरको त्रसित हुन पर्ने स्थिति जस्तो लाग्दैन । एक त विश्व बहुधुर्बीय हुदै भएर अमेरिकी सत्ताधारीको एकछत्त साम्राज्य लादेको छ, त्यसमाथि उसको इन्डियन साथै चिनियाँहरुँंगको अन्तरबिरोधले पनि उसलाई त्यति सजीलो छैन । नेपाली सत्ताधारी नेताहरु देशभक्त हुने हो भने आन्तरिक एकता मजबूत बनाउंदै विश्व मंचहरुमा पहलकदमी बढाएर नेपालको पुरानो र लामो इतिहासवारे प्रचार प्रसार बढाएर यी अन्तरबिरोधबाट फाइदा उठाउन सक्नुपर्छ । कथमकदाचित सैनिक क्याम्प राख्ने काम गरेछ नै भने पनि इराक, अफगानीस्तान, फिलीपिन्स आदि देशहरुले फीर्ता पठाए जस्तै पठाउन नसकिने पनि हैन । आन्तरिक एकता सुद्रीढ गरे जनताले दशगजाको सुरक्षा पनि गर्छ, कांडेतार पनि लगाउँछ र विदेशी सेना बिरुद्ध छापामार युद्ध चलाएर उसलाई पनि धपाँंछ, निर्णायक तत्व हो आन्तरिक एकता ।


















