सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ । संयुक्त संघर्ष समितिले बुधबार काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमाथिको दमन, बढ्दो महंगी र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेपविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनलाई सम्बोधन गर्दै वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता राजकुमार हिङमाङले सरकारले विदेशी शक्तिको प्रभावमा परेर सुकुम्बासीमाथि दमन गरिरहेको आरोप लगाए । उनले सुकुम्बासीको समस्या समाधान गर्नुको सट्टा राज्यले बल प्रयोग र दमनलाई प्राथमिकता दिएको त्यसका विरुद्ध नागरिक समाज र मानव अधिकारकर्मीहरु एकजुट भएर विरोध गर्नुपर्ने बताए ।
हिङमाङले नेपालमा गरिब, भूमिहीन र निमुखा नागरिकमाथि पञ्चायतकालदेखि नै निरन्तर दमन हुँदै आएको दाबी गर्दै वर्तमान व्यवस्थामा पनि त्यही प्रवृत्ति दोहोरिनु दु:खद् भएको बताए । सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीहरु बैशाख १२ र १३ गते खाली गराएको थियो ।
















