‘ग्रामीण क्षेत्रमा बाल विवाह, घरेलु हिंसा र बहुविवाहको समस्या बिकराल’

विराटनगर,मंसिर २६ । कोशी प्रदेशका ग्रामीण क्षेत्रमा बाल विवाह,घरेलु हिंसा र बहुविवाहको समस्या विकराल रुपमा रहेको एक अध्ययनले देखाएको छ ।

भोजपुर, पाँचथर, इलाम, धनकुटा, ओखलढुङ्गा, उदयपुर र सुनसरीका ग्रामीण क्षेत्रमा यस्तो समस्या धेरै रहेको पाइएको हो ।

न्यायमा पहुँच कार्यक्रम अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालयमा कानूनमा स्नातक तह अध्ययनरत विद्यार्थीहरूले ती जिल्लाका १८ वटा स्थानीय तहमा गरेको अध्ययनबाट यो तथ्य सार्वजनिक भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयका ३५ जना विद्यार्थीले १८ वटा स्थानीय तहमा गएर क्लिनिकल लिगल एजुकेशन सञ्चालन गरेका थिए ।

बहु विवाह गर्नेले विवाह दर्ता नगरिदिने, नागरिकता नबनाइ दिने, मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने समस्या बढी देखिएको छ । बाल विवाह गर्नु हुन्न भन्ने कुरा अभिभावकलाई जानकारी भएपनि स्कूल पढ्दा पढ्दै गरेका बालबालिकाले आफू खुसी विवाह गर्ने गरेका छन् ।

उमेर नपुगी विवाह गरेका बाल बालिकामा उमेरको परिपक्वता आएसँगै असमझदारी बढ्ने, बाल विवाह गरेका दम्पतिको सन्तानको जन्मदर्ता नहुने जस्ता समस्या पाइएको छ ।

मदिरा सेवन घरेलु हिंसाको प्रमुख स्रोतका रुपमा भेटिएको छ । अधिकांश नागरिकलाई अझै पनि स्थानीय तहले न्याय निरूपण गर्छ भन्ने कुरा पनि थाहा नभएको पाइएको छ ।

स्थानीय सरकारले पहिलो कार्यकाल पुरा गरेर अर्को कार्यकालको पनि डेढ वर्ष पुरा भइसक्दा पनि स्थानीय तहहरूले न्यायिक समितिको कामका विषयमा नागरिकहरूलाई जानकारी नगराएको पाइएको छ ।

न्यायिक समिति स्थानीय तहमा गठन भएको छ र उसले सरल एवम् सहज रूपमा न्याय निरूपण गर्छ भन्ने कुरा नागरिकलाई थाहा नभएको पाइएको छ ।

न्यायमा पहुँच कार्यक्रम अन्तर्गत पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कानूनमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले यी सात जिल्लाका १८ वटा स्थानीय तहमा सञ्चालन गरेको क्लिनिकल लिगल एजुकेशन कार्यक्रमबाट यो तथ्य सार्वजनिक भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका ३५ जना विद्यार्थीले १८ वटा स्थानिय तहमा गएर क्लिनिकल लिगल एजुकेशन सञ्चालन गरेका थिए । कानूनको अज्ञानताका कारण नागरिकहरू समस्यामा परेको भेटिएको छ । क्याम्पसमा पढेको भन्दा बढी व्यवहारिक ज्ञान प्राप्त गरेको विद्यार्थीहरूले बताएका छन् ।

विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथसाथै व्यवहारिक ज्ञान दिने उद्देश्यले कानूनमा पहुँच परियोजनाको सहकार्यमा क्लिनिकल लिगल एजुकेशन कार्यक्रम सञ्चालन गरिएको पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणी पोखरेलले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायका डिन प्रा. डा. अनिलकुमार पोखरेलले क्लिनिकल लिगल एजुकेशनबाट विद्यार्थीहरूले व्यवहारिक ज्ञान पाउनुका साथै नागरिक पनि लाभान्वीत भएको टिप्पणी गरे ।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत काठमाण्डु स्कूल अफ ल, हबिब एजुकेशन फाउण्डेशन कलेज अफ ल ब्राइट भिजन कलेज र कलेज अफ लका ३० जना विद्यार्थीले स्थानीय तहमा ३० दिन बसेर क्लिनिकल लिगल एजुकेशन सञ्चालन गरेका थिए ।

धनकुटाको शहीदभूमि गाउँ पालिकाका अध्यक्ष मनोज राई, इलामको सन्दकपुर उपाध्यक्ष हरी बहादुर लुङ्गेली, पाँचथरको कुम्मायक गाउँ पालिकाका उपाध्यक्ष महेन्द्रबहादुर खड्का लगायतले विद्यार्थीहरूले उठाएका समस्या क्रमशः पुरा गर्दै जाने प्रतिबद्धता जनाए । यस्तो कार्यक्रमले स्थानीयका साथै स्थानीय तह पनि लाभान्वीत भएकाले कार्यक्रमलाई निरन्तरता दिन विश्वविद्यालयसँग माग गरे ।