भारतसँग भिड्ने मुडमा बंगलादेश !

बंगलादेश अब पुरानो बंगलादेश रहेन । कुनै समय भारतको सबैभन्दा निकट मानिने बंगलादेश अब भारतको पोल्टाबाट बाहिर निस्किँदै गएको देखिन्छ । दुवै देशमा एकअर्काविरुद्धका प्रदर्शन चर्किएका छन् भने नेताहरूबीच आरोप प्रत्यारोपका शृङ्खला नै चलेका छन् ।

बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले भारतले आफ्नो स्वार्थका लागि पाकिस्तानलाई टुक्र्याएको प्रतिक्रिया दिएका छन् । यसबाट स्पष्ट हुन्छ कि चार महिनाअघि विद्यार्थीको हिंसात्मक आन्दोलनसँगै शेख हसिनाले देश छाडेर भारतमा शरण लिइन् । त्यससँगै भारत र बंगलादेशबीचको सम्बन्ध सुमधुर छैन ।

बंगलादेशमा रहेका हिन्दुमाथि इस्लामिक कट्टरपन्थीले हमला गरिरहेको र सरकारले हिन्दुमाथिको हमला रोक्न नसकेको आरोप लगाउँदै आएको भारत र बंगलादेशबीच यतिबेला वाकयुद्ध चलिरहेको छ ।

भारतले बंगलादेशलाई सन् १९७१ पाकिस्तानबाट स्वतन्त्रता दिलाएको दाबी गर्छ । त्यसबेला बंगलादेशको मुक्ति सेनासँग मिलेर भारतीय सेनाले पाकिस्तानी सेनाविरुद्ध लडेको थियो । बंगलादेशको अन्तरिम सरकारका प्रमुख युनुसले बंगलादेशलाई भारतले आफ्नो स्वार्थका लागि टुक्र्याएको तर बंगलादेशीले नै देश बनाएको प्रतिक्रिया दिएका छन् ।

मोहम्मदले युनुसले जे प्रतिक्रिया दिए पनि भारतको सहयोगमा पूर्वी पाकिस्तान पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको हो । यो आन्दोलनका नेता थिए, शेख मुजिब–उर रहमान । उनकै छोरी शेख हसिनालाई आन्दोलनको बलमा सत्ताबाट हटाएपछि यतिबेला पाकिस्तानसँग सम्बन्ध सुध्रँदो अवस्थामा छ ।

बंगलादेशको अन्तरिम सरकारका कानुनी सल्लाहकार आसिफ नजरुलले यो शेख हसिनाको बंगलादेश नभएको टिप्पणी गरेका छन् । अर्कोतिर बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का वरिष्ठ संयुक्त महासचिव रुहुल कबिर रिजवीले राजधानी ढाकामा आफ्नी पत्नीको भारतीय साडी जलाए र आफ्ना कार्यकर्तालाई भारतीय उत्पादन बहिष्कार गर्न अपिल गरे ।

आज हामी शेख हसिनाको भारतसँगको दोस्ती, बंगलादेशको बदलिँदो नजर, बंगलादेशमा हिन्दु समुदायमाथि भइरहेको हमलासँगै भारत–बंगलादेशको दोस्ती कसरी दुस्मनीमा बदलियो भन्ने विषयमा चर्चा गर्दै छौँ ।

सन् १९७१ अघि बंगलादेश पूर्वी पाकिस्तान थियो । सन् १९४७ मा भारत ब्रिटिस उपनिवेशबाट स्वतन्त्र हुनुभन्दा एक दिनअघि पाकिस्तान स्वतन्त्र भयो, जसमा हालका पाकिस्तान र बंगलादेश थिए । बंगलादेशलाई पूर्वी पाकिस्तानका रूपमा चिनिन्थ्यो । तर, बंगालभाषीको बाहुल्य रहेको यो क्षेत्रले बिस्तारै पाकिस्तानबाट उत्पीडित भएको महसुस गर्न थाल्यो ।