भारत-पाकिस्तान युद्धविरामपछि खुल्न थाले श्रीनगरका विद्यालय

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि जम्मु कश्मीरको अवस्था बिस्तारै सामान्य हुँदै गइरहेको छ।

बीबीसी हिन्दीका अनुसार ‘श्रीनगरको अवस्था सामान्य हुँदै गइरहेको छ र मंगलबार विद्यालयहरू खुलेका छन्।’

यद्यपि, बारामुल्ला जिल्लाको सीमावर्ती उरी र साम्बा सेक्टरजस्ता अन्य क्षेत्रमा विद्यालय अझै खुलेका छैनन्।

समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार बिहान विद्यार्थीहरू स्कुल जाँदै गरेको देखियो। रियासीमा पनि विद्यालय खुलेका छन्।

भारी गोलाबारीबाट प्रभावित पुंछमा पनि जनजीवन बिस्तारै सामान्य हुँदै गइरहेको छ। बजारहरू क्रमशः खुल्न थालेका छन्।

एएनआईका अनुसार सोमबार राति साम्बा सेक्टरमा विस्फोटको आवाज सुनिएको थियो र सेनाले केही ड्रोन देखेको बताएको छ।

तर तिनलाई निष्क्रिय पारिएको भारतीय सेनाले जनाएको छ।