काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको पूर्वाधार विकास अपेक्षित गतिमा अघि नबढ्नुको कारण व्यक्तिगत कमजोरी नभई राज्यको संरचनामै रहेको समस्या भएको बताएका छन्। दबाब, आदेश वा डर देखाएर विकास सम्भव नहुने उनको भनाइ छ।
सामाजिक सञ्जालमा जारी भिडियो सन्देशमा थापाले नारायणगढ–बुटवल सडक, पूर्व–पश्चिम राजमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता राष्ट्रिय महत्त्वका परियोजनाहरू वर्षौँसम्म अल्झिनु र सहरमा एउटै सडक पटक–पटक खन्ने प्रवृत्तिलाई विकास व्यवस्थापनको कमजोरीका रूपमा औँल्याए।
उनका अनुसार पुराना कानुन, विशेषतः सडक ऐन र सार्वजनिक खरिद ऐन, पूर्वाधार विकासका मुख्य बाधक बनेका छन्। समयमै आयोजना सम्पन्न गर्न करिब तीन दर्जन कानुन संशोधन वा खारेज गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
थापाले सार्वजनिक खरिदमा ‘सस्तो’ भन्दा ‘समय र गुणस्तर’ लाई प्राथमिकता दिनुपर्ने, पारदर्शिता र सामाजिक परीक्षण अनिवार्य गर्नुपर्ने तथा स्रोत सुनिश्चित नगरी आयोजना घोषणा गर्ने अभ्यास अन्त्य गर्नुपर्नेमा जोड दिए।
पाँच वर्षभित्र पूर्वाधार क्षेत्रमा रूपान्तरणकारी परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उनले कांग्रेसले गुणस्तरीय र समयमै आयोजना सम्पन्न गर्ने प्रणाली स्थापना गर्ने बताए।
















